नियम २०
ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको नाम दर्ता
(१) ऐनको दफा २० बमोजिम ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको रुपमा नाम दर्ता गराउनको लागि ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता सम्बन्धी कम्तीमा एक महिनाको तालिम लिएका व्यक्तिले नाम दर्ता गर्ने निकायमा अनुसूची-१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको दरखास्त साथ ऐनको दफा २० को उपदफा (१) बमोजिमको तालिम, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सञ्चालन गर्दै आएको कागजात र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ।

(३) उपनियम (१) बमोजिम -प्राप्त दरखास्त जाँचबुझ गर्दा मनासिब देखिएमा छुट्टै दर्ता किताब खडा गरी ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको नाम दर्ता गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिम नाम दर्ता भएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले देहाय बमोजिमको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न सक्नेछन्‌: -

(क) पशु रोगको प्राथमिक उपचार,

(ख) “परजीवी विरुद्धको औषधिको प्रयोग,

(ग) पशु खोपको प्रयोग,

(घ) भाले पशुको बन्द पद्धतिबाट गरिने बन्ध्याकरण,

(ङ| पशु रोगको नियन्त्रणमा सहयोग,

(च) पशु पालन र पशु रोग सम्बन्धी सचेतनामूलक कार्य।

(५) उपनियम (३) बमोजिम नाम दर्ता भएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताबाट उपनियम (४) बमोजिमको कार्य भए नभएको सम्बन्धमा नाम दर्ता गर्ने निकायले समय समयमा अनुगमन तथा निरीक्षण गरी आवश्यकता अनुसार कुनै सुधार गर्नु पर्ने देखिएमा सुधारको लागि निर्देशन समेत दिन सक्नेछ।

(६) उपनियम (३) बमोजिम नाम दर्ता भएका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको लागि नाम दर्ता गर्ने निकायले आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी क्षमता विकासका आवश्यक कार्यक्रम नियमित रुपमा सञ्चालन गर्नु पर्नेछ।