नियम ४१
घर बिदा
(१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनका दरले घर बिदा पाउनेछ ।
(२) यो नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने बिदा, पर्व बिदा, सट्टा बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदालाई समेत जनाउनेछ ।
(३) घर बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ ।
(४) कर्मचारीले आफूले पकाएको घर बिदा एक सय असी दिनसम्म संचित गरी राख्न पाउनेछ ।
(५) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको संचित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(६) संचित रहेको घर बिदाको रकम लिन नपाउँदै कर्मचारीको मृत्यु भएमा त्यस्तो संचित घर बिदाको रकम नियम ९२ को उपनियम (२) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।
(७) घर बिदा, अध्ययन बिदा वा असाधारण बिदामा बसेको कर्मचारीले सो अवधिभरको घर बिदा पाउने छैन ।
(८) कर्मचारीले वर्षको एक पटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट सचिवालयमा फर्कि आउँदा पैदल बाटोलाई बढीमा आठकोशको निमित्त एक दिनको दरले हुने दिन तथा मोटर, रेल, हवाइजहाजको बाटोलाई जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।
(९) कुनै कर्मचारीको उपनियम (४) बमोजिम सञ्चित हुने दिन भन्दा बढी घर बिदा हुने भएमा त्यस्तो बिदा वापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम चालू आर्थिक वर्षभित्र निजलाई एकमुष्ट उपलव्ध गराइनेछ ।