दफा ३९
जाँचबुझ गर्नु पर्ने
(१) यस ऐन बमोजिम लिन नहुने स्वेच्छिक आर्थिक सहयोगको रकम कुनै दलले प्राप्त गरेको प्रमाण सहितको उजूरी परेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा वा दलले त्यस्तो रकम प्राप्त गरेको छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भएमा आयोगले त्यस सम्बन्धमा तोकिए बमोजिम जाँचबुझ गर्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको जाँचबुझबाट दलले त्यसरी रकम प्राप्त गरेको देखिएमा आयोगले त्यस्तो रकम आयोगमा दाखिला गर्न सम्बन्धित राजनीतिक दललाई आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिमको आदेश प्राप्त भएको तीस दिनभित्र सम्बन्धित दलले त्यस्तो रकम आयोगमा दाखिला गर्नु पर्नेछ र त्यसरी प्राप्त भएको रकम आयोगले पन्ध्र दिनभित्र सञ्चित कोषमा दाखिला गर्नेछ ।
(४) दलले उपदफा (३) बमोजिमको अवधिभित्र रकम दाखिला नगरेमा आयोगले सो दलबाट त्यस्तो रकम दाखिला गराई दश हजार रुपैयाँ जरिबाना गर्न सक्नेछ ।