दफा ९६
जिल्ला सभा र जिल्ला समन्वय समितिको बैठक
(१) जिल्ला सभाको बैठक वर्षको कम्तीमा एक पटक तथा जिल्ला समन्वय समितिको बैठक महिनाको कम्तीमा एक पटक बस्नेछ ।
(२) जिल्ला समन्वय समितिको प्रमुखले जिल्ला सभा तथा जिल्ला समन्वय समितिको बैठक बोलाउनेछ ।
तर जिल्ला सभाको प्रमुख निर्वाचित नभएसम्म सो सभाका सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले सो सभाको बैठक बोलाउनेछ ।
(३) जिल्ला सभा तथा जिल्ला समन्वय समितिको बैठकको अध्यक्षता जिल्ला समन्वय समितिको प्रमुखले गर्नेछ । निजको अनुपस्थितिमा जिल्ला समन्वय समितिको उपप्रमुख र उपप्रमुख पनि अनुपस्थित भएमा बैठकमा उपस्थित सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(४) जिल्ला सभा तथा जिल्ला समन्वय समितिमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा जिल्ला सभा तथा जिल्ला समन्वय समितिको बैठक बस्नको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) जिल्ला सभा तथा जिल्ला समन्वय समितिको बैठकको निर्णय सर्वसम्मतिबाट गर्नु पर्नेछ र सर्वसम्मति कायम हुन नसकेमा सो सभा वा समितिमा उपस्थित सदस्यहरूको बहुमतबाट भएको निर्णय जिल्ला सभा तथा जिल्ला समन्वय समितिको निर्णय मानिनेछ ।
(६) जिल्ला सभा तथा जिल्ला समन्वय समितिको बैठक सम्बन्धी अन्य व्यवस्था सो सभा तथा समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(७) यस दफामा रहेको बैठक सम्बन्धी व्यवस्था प्रदेश कानूनले जिल्ला सभा तथा जिल्ला समन्वय समितिको बैठक सम्बन्धमा अन्यथा व्यवस्था नगरेसम्म मात्र लागू हुनेछ ।