नियम
तहकिकातसम्बन्धी कार्यविधि

(१) ऐनको अनुसूची–१ मा उल्लिखित अपराधको सम्बन्धमा दरखास्त वा सूचना दर्ता वा प्राप्त हुनासाथ सो अपराधको सम्बन्धमा
अनुसन्धान तहकिकातको लागि सम्बन्धित प्रहरी कार्यालयले तहकिकात गर्ने प्रहरी कर्मचारी तोकी सोको जानकारी तालुक कार्यालय र सरकारी वकील कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम तहकिकात गर्न तोकिएको प्रहरी कर्मचारीलाई मुद्दाको अनुसन्धान तहकिकातसम्बन्धी विषयमा सम्बन्धित वा तालुक प्रहरी कार्यालयको कुनै माथिल्लो दर्जाको प्रहरी अधिकृतले मिसिल अध्ययन गरी आवश्यक निर्देशन दिन सक्नेछ । अपराधको प्रकृति र गम्भीरतालाई दृष्टिगत गरी त्यस्तो तहकिकात गर्ने प्रहरी कर्मचारीको सहयोगको लागि आवश्यकता अनुसार छुट्टै अनुसन्धान टोली समेत गठन गर्न सकिनेछ ।
(३) प्रहरी कर्मचारीले कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको जानकारी वा सुराक पाई सुराक लिन गएका बखत वा आफ्नो उपस्थितिमा त्यस्तो अपराध भएको देखेमा तुरुन्त अभियुक्तलाई पक्री र अभियुक्त पक्राउ हुन नसकेको अवस्थामा अपराधसँग
सम्बन्धित दसीको मालसामान र अन्य कुनै प्रमाण लाग्ने चीज वा वस्तु फेला परेमा ती सामानहरू समेत घटनास्थलमा अपराध भएको देख्ने व्यक्तिहरू कोही भए निजहरूको रोहबरमा आफ्नो कब्जामा लिई आवश्यकता अनुसार ठाडो मुचुल्का खडा गर्नु पर्नेछ र त्यस्तो तहकिकातको कार्य सम्पन्न नभएसम्म त्यस्तो स्थानलाई यथास्थितिमा सुरक्षित राख्नु पर्नेछ ।

तर दसीको मालसामान र अपराधसँग सम्बन्धित प्रमाण लाग्ने कुनै चीज वा वस्तु तत्काल आफ्नो जिम्मा वा कब्जामा लिन नसकिने किसिमको रहेछ भने त्यस्तो  चीज वा वस्तुलाई सुरक्षित साथ राख्नको निमित्त सम्बन्धित प्रहरी कर्मचारीले स्थानीय गाउँ विकास समिति वा नगरपालिकालाई अनुरोध गर्न सक्नेछ र त्यसरी अनुरोध गरिएमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाले पनि त्यस्तो मालसामान, चीज वा
वस्तु जिम्मा लिई जिम्मा लिएको निस्सा दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम सुराक लिन जाने प्रहरी कर्मचारीले घटनाको सम्बन्धमा सकभर चाँडो सम्बन्धित प्रहरी कार्यालयमा खबर गर्नुपर्छ र त्यस्तो कार्यालयले पनि खबर प्राप्त हुनासाथ अनुसूची–३ बमोजिमको अपराध दर्ता किताबमा त्यस्तो खबर दर्ता गरी तहकिकात गर्ने प्रहरी कर्मचारी तोक्नु पर्नेछ ।
(५) उपनियम (१) र (४) बमोजिम तहकिकात गर्न तोकिएको प्रहरी कर्मचारी यथाशीघ्र घटनास्थलमा पुग्नुपर्नेछ ।
(६) यस नियमबमोजिम तहकिकात गर्ने प्रहरी कर्मचारीले त्यस्तो मुद्दासम्बन्धी घटना देख्ने जान्ने वा थाहा पाउने व्यक्तिहरूसँग निजहरूले देखे, जाने, बुझेसम्मको यथार्थ व्यहोरा यथाशीघ्र खुलाइ अनुसूची–४ बमोजिमको ढाँचामा कागज गराइ राख्नु पर्नेछ ।