(१) कसैले यस ऐनबमोजिम खनिज कार्य गर्ने अनुमति नलिई खनिज कार्य गरेमा नेपाल सरकारले त्यस्तो खनिज कार्य बन्द गरी खनिज कार्यमा प्रयोग गरिएको यन्त्र, उपकरण, औजार र मालसामान तथा अनधिकृत तवरले उत्खनन् गरेको खनिज पदार्थसमेत जफत गर्नुको साथै त्यस्तो व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कार्यबाट नोक्सान भएको धनसम्पत्तिको क्षति पनि भराउन सक्नेछ ।
(२) अनुमति प्राप्त व्यक्तिले दफा ११क. बमोजिम दिइएको निर्देशन वा दफा १३ बमोजिमको आदेश पालन नगरेमा त्यस्तो निर्देशन वा आदेश पालन नगरेसम्म विभागले खनिज कार्य स्थगित गर्न वा खनिज कार्य गर्ने अनुमति नै रद्द गर्न सक्नेछ र त्यस्तो निर्देशन वा आदेश
पालन नगरेको कारणबाट खानी वा खनिज पदार्थको भण्डारमा क्षति पुग्न गएमा, भूक्षय भएमा वा कसैको जिउ वा धन सम्पत्तिमा चोटपटक वा नोक्सानी पर्न गएमा एकलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र नोक्सानीको आधारमा मुनासिब क्षतिपूर्ति समेत अनुमति प्राप्त व्यक्तिबाट भराउनु पर्नेछ ।
(३) अनुमति प्राप्त व्यक्तिले दफा २० बमोजिम विभागमा दिनुपर्ने सूचना वा प्रतिवेदन नदिएमा त्यसरी सूचना वा प्रतिवेदन नदिएसम्म विभागले खनिज कार्य स्थगित गर्न सक्नेछ ।
(४) अनुमति प्राप्त व्यक्तिले यस दफामा लेखिएदेखि बाहेक यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम बर्खिलाप कुनै काम गरेमा विभागले निजलाई एकलाख रुपैयाँसम्म जरिवाना गर्न वा खनिज कार्य गर्न दिइएको अनुमति रद्द गर्न सक्नेछ ।
(५) उपदफा (१), (२), (३) वा (४) बमोजिम कारवाही गर्नुभन्दा अगाडि विभागले सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
(६) विभाग वा अनुमति प्राप्त व्यक्तिले यस ऐनबमोजिम खनिज कार्य गर्दा कसैले बाधा विरोध वा रोकटोक गरेमा निजलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीको आदेशले ६ महीनासम्म कैद वा दशहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
(७) उपदफा (१), (२), (३), (४) वा (६) बमोजिम भएको सजायको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ ।