नियम
दल दर्ताको लागि निवेदन दिनु पर्ने

(१) ऐनको दफा ३ बमोजिम गठन भएको दल आयोगमा दर्ता गर्न त्यस्तो दलको केन्द्रीय समितिको निर्णय बमोजिम दलको प्रमुख पदाधिकारीले ऐनको दफा ५ को उपदफा (१) बमोजिमका विवरण तथा कागजात संलग्न गरी अनुसूची–२ बमोजिम आयोग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) दल दर्ताको लागि उपनियम (१) बमोजिम निवेदन दिँदा ऐनको दफा ५ को उपदफा (१) को खण्ड (घ) र (ङ) को प्रयोजनको लागि कम्तीमा पाँचसय जना नेपाली मतदाताले हस्ताक्षर गरेको अनुसूची–३ बमोजिमको प्रतिबद्धता तथा उद्घोषणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दलले पेश गरेको निवेदनका सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गर्नेछ ः–
(क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको,
(ख) निवेदन र सो साथ संलग्न विवरण तथा कागजात पूरा भए वा नभएको,
(ग) दल दर्ता हुन नेपालको संविधान तथा प्रचलित सङ्घीय कानूनले तोकेको शर्त पूरा गरे वा नगरेको ।
(४) आयोगले उपनियम (३) बमोजिम जाँच गर्दा दल दर्ताको लागि पेश भएको निवेदन साथ संलग्न विवरण तथा कागजात स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पर्ने भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित भनाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ ।
(५) आयोगले उपनियम (४) बमोजिम दिएको समयभित्र सम्बन्धित दलले थप विवरण, कागजात वा प्रमाण सहित आफ्नो भनाई लिखित रुपमा पेश गर्नु पर्नेछ ।
(६) यस नियम बमोजिम दल दर्ताको लागि पेश भएको निवेदन, विवरण, कागजात तथा प्रमाणको जाँच गर्दा दल दर्ता गर्न मनासिब देखिएमा आयोगले निवेदन दर्ता भएको मितिले पैंतालीस दिन भित्र दर्ता गर्नेछ र दल दर्ता गर्न मिल्ने नदेखिएमा सोको जानकारी निवेदकलाई गराउनेछ ।