दफा १३३
दुर्घटना भएमा चालकको कर्तव्य
(१) कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउ ज्यानमा कुनै किसिमको खतरा वा चोट पटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम सवारी दुर्घटनाग्रस्त भएको स्थानमा कुनै प्रहरी नभएमा चालकले तुरून्त सो दुर्घटनाको जानकारी तथा विवरण नजीकको प्रहरी कार्यालयलाई दिनु पर्छ । कुनै प्रहरीले दुर्घटनाको सम्बन्धमा सम्बन्धित सवारी चालकसँग कुनै कुराको सोधपुछ गरेमा निजले सोधिएको सबै कुरा बताउनु पर्छ ।