नियम ६२
धरौटी खाता
(१) धरौटी रकम रहने प्रत्येक कार्यालयले महालेखा नियन्त्रक कार्यालय वा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकेको बैङ्कमा खाता खोली धरौटी राख्नु पर्नेछ । यसरी प्रत्येक कार्यालयले खोल्ने धरौटी खाता सामान्यतः एउटा मात्र
हुनेछ ।
(२) उपनियम (१) बमोजिमको धरौटी खातामा रकम जम्मा गर्नु पर्दा सम्बन्धित व्यक्तिले बैङ्कले तोके बमोजिम दुई प्रति भौचरहरू भरी बैङ्क दाखिला गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको दुई प्रति भौचर मध्ये एक प्रति बैङ्कले सम्बन्धित व्यक्तिलाई दिनेछ । सो भौचर सम्बन्धित कार्यालयमा बुझाई सोको नगदी रसिद लिनु पर्नेछ । सिलबन्दी बोलपत्र साथ पेश गर्ने भौचरको सम्बन्धमा बोलपत्र खोली सकेपछि नगदी रसिद लिनु दिनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको धरौटी खाताको सञ्चालन कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ । आवश्यकतानुसार आफ्नो उत्तरदायित्वमा कार्यालय प्रमुखले आफ्नो मातहतका अन्य अधिकृत र आर्थिक प्रशासन शाखाका प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखतबाट समेत धरौटी खाताको सञ्चालन गर्न गराउन सक्नेछ ।