दफा २१
नक्कली टिकट वा चलन गरिसकेको टिकट लागि आएका हुलाक वस्तुहरुमा कारबाही गर्ने अधिकार
(१) नक्कली टिकट वा चलन गरिसकेको टिकट लागेको कुनै हुलाक वस्तु हुलाकबाट प्राप्त हुन आएमा सम्बन्धित हुलाक हाकिमले म्याद तोकी सो म्यादभित्र आफैं वा वारिस पठाई सो वस्तु लिन हुलाक अड्डामा हाजिर हुन आउनु भनी ठेगानावालाका नाउँमा लिखित सूचना पठाउनु पर्दछ ।
(२) म्यादभित्र हुलाक अड्डामा ठेगानावाला वा निजको प्रतिनिधि हाजिर भई नक्कली टिकट वा चलन गरिसकेको टिकट लागेको र पठाउनेको नाम र ठेगाना जनाएको जति हिस्सा हुलाक हाकिमलाई बुझाई दिन मंजुर गरेमा सो हुलाक वस्तु ठेगानावाला वा निजको प्रतिनिधिलाई डेलिभरी गरिदिनुपर्छ ।
(३) म्यादभित्र ठेगानावाला वा निजको प्रतिनिधि हाजिर नभएमा वा हाजिर भए तापनि उपदफा (२) बमोजिम चाहिएको हुलाक वस्तुको सम्बन्धित भाग बुझाई दिन मञ्जुर नगरेमा त्यस्तो हुलाक बस्तुलाई ठेगानावाला वा निजको प्रतिनिधिलाई डेलिभरी नगरी महानिर्देशकले तोकिदिएको तरिकाले टुंगो लगाइनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको निमित्त “हुलाक टिकट” भन्नाले विदेशी मुलुकको
हुलाक टिकटलाई समेत जनाउँछ ।