दफा १२
निरीक्षक

(१) कुनै पदार्थ वा प्रक्रियाको गुणस्तरसम्बन्धी निरीक्षण गर्न गराउन कार्यालयले आवश्यक संख्यामा निरीक्षकहरु नियुक्ति गर्न वा तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएका वा तोकिएका निरीक्षकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछन्ः–
(क) प्रमाण–चिन्ह प्रयोग भएको कुनै पदार्थ वा प्रक्रियाको सम्बन्धमा इजाजतपत्र प्राप्त गरेको वा नगरेको र सो इजाजतपत्रको शर्त अनुकूल काम गरे वा नगरेको जाँचबुझ गर्ने,
(ख) गुणस्तरको प्रमाणपत्र प्रयोग भएको पदार्थ वा प्रक्रियाको सम्बन्धमा सो प्रमाणपत्रको शर्त अनुकूल काम गरे वा नगरेको जाँचबुझ गर्ने,
(ग) प्रमाण–चिन्ह वा गुणस्तरको प्रमाणपत्र प्रयोग हुने पदार्थको उत्पादन वा त्यस पदार्थसम्बन्धी कुनै प्रक्रियाको निरीक्षण गर्ने,
(घ) प्रमाण–चिन्ह वा गुणस्तरको प्रमाणपत्र प्रयोग गरिएको कुनै पदार्थ र त्यस पदार्थसम्बन्धी कोरा वा तयारी माल इत्यादि जुनसुकै अवस्थामा निरीक्षण वा परीक्षणको लागि नमूना लिने ।