नियम ५०
निरीक्षण गर्ने
(१) नियम ४६, ४७ र ४८ बमोजिम लगत खडा गरी राखिएको जिन्सी मालसामान के कस्तो अवस्थामा छन् कार्यालय प्रमुखले एक वर्षमा कम्तीमा एक पटक आफैले निरीक्षण गरी वा त्यस्तो मालसामान जिम्मा लिने कर्मचारी बाहेक अन्य कर्मचारी वा प्राविधिकद्वारा निरीक्षण गर्न लगाई त्यसको प्रतिवेदन लिखित रूपमा लेखि वा लिई राख्ने व्यवस्था गर्नु पर्नेछ । यसरी निरीक्षण प्रतिवेदन प्राप्त भएपछि आम्दानी बाध्न छुट भएको कुनै मालसामान भेटिएमा मूल्य र विवरण खुलाई आम्दानी बाध्न लगाई त्यस्तो मालसामानको मर्मत सम्भार र संरक्षण गर्नु गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुराहरू स्पष्ट रूपमा खुलेको हुनु पर्नेछः–
(क) जिन्सी किताबमा आम्दानी नबाधिएका जिन्सी मालसामन भए के कति र कस्तो अवस्थामा छन्,
(ख) मालसामानको संरक्षण र सम्भार राम्रोसग भएको छ छैन,
(ग) के कति जिन्सी मालसामानहरू मर्मत सम्भार गर्नु पर्ने अवस्थामा छन्,
(घ) के कति जिन्सी मालसामानहरू बेकम्मा भई लिलाम बिक्री वा मिन्हा गर्नु पर्नेछन्,
(ङ) जिन्सी मालसामानको प्रयोग भए वा नभएको, हानी नोक्सानी भए वा नभएको र हानी नोक्सानी भएको भए कस्को लापरवाहीबाट भएको हो,
(च) एकै किसिमको मालसामानमध्ये गत वर्ष उपयोग भएको परिमाण र चालू आर्थिक वर्षमा खरिद गरिएको परिमाणको तुलनात्मक विवरण, र
(छ) महालेखा नियन्त्रक कार्यालयले तोकिदिएका अन्य कुराहरू ।
(३) निरीक्षण प्रतिवेदन प्राप्त भएपछि कार्यालय प्रमुखले त्यस्तो प्रतिवेदनको एकप्रति तालुक कार्यलयमा पठाउनु पर्नेछ । तालुक कार्यालयले त्यस्तो प्रतिवेदनको विषयमा एक महिनाभित्र कुनै निर्देशन पठाएमा कार्यालय प्रमुखले सो समेतलाई विचार गरी सो अवधिभित्र कुनै निर्देशन प्राप्त नभएमा लिलाम बिक्री गर्नु पर्ने मालसामान छ महिना भित्र र मर्मत सम्भार गर्नु पर्ने भए तीन महिनाभित्र गरिसक्नु पर्नेछ । कार्यालयको आवश्यकता भन्दा बढी मालसामान खरिद गरी उपयोग नभई त्यसै रहेको भए तालुक कार्यालयमा प्रतिवेदन पेश गरी निर्देशन प्राप्त भएअनुसार हस्तान्तरण गरी आवश्यकता भन्दा बढी मालसामान खरिद गर्ने आदेश दिने उपर प्रचलित कानून बमोजिम विभागीय
कारबाही समेत गर्नु पर्नेछ ।
(४) उपनियम (२) को खण्ड (ग) बमोजिम मर्मत सम्भार गर्नु पर्ने भनी उल्लेख भएका मालसामानहरूको मर्मत सम्भारको बजेटको व्यवस्था मिलाई दिने जिम्मेवारी तालुक कार्यालयको हुनेछ ।
(५) कुनै कार्यालयको प्रयोगमा नआएका वा नआउने तर अर्को कार्यालयको लागि उपयोगी हुने मालसामानहरू हस्तान्तरण गर्दा दिने र लिने मन्त्रालयका सचिव र महालेखा नियन्त्रक रहेको समितिको सिफारिसको आधारमा हस्तान्तरण गर्नु पर्नेछ ।