नियम ९०
निर्णय सुनाउने मिति तोक्ने
(१) इजलास समक्ष पेस भई छलफल भएको कुनै मुद्दामा जटिल संवैधानिक वा कानूनी प्रश्न समावेश भएको, मुद्दामा थप अध्ययन गर्नु पर्ने वा न्यायाधीशहरूका बीच छलफल हुनु पर्ने आवश्यकता भई उसै दिन निर्णय सुनाउन नसकिने अवस्था परेमा सम्बन्धित इजलासले निर्णय सुनाउनका लागि बढीमा एक महिनासम्मको समय तोक्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको मितिमा सम्बन्धित इजलासले निर्णय सुनाउनु   पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष कारण र परिस्थिति उत्पन्न भएमा तोकिएको मितिमा निर्णय सुनाउन नसकिने अवस्था परेमा सोको कारण खुलाई निर्णय सुनाउने अर्को मिति तोक्न सकिनेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणले सम्बन्धित इजलास गठन हुन नसक्ने भएमा त्यस्तो मुद्दा नियमित पेसीमा चढाउन बाधा पर्नेछैन।