नियम २०
निर्वाचन चिन्ह
(१) निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह आयोगले निर्धारण गरे बमोजिम हुनेछ । (२) यस नियम बमोजिम दलको उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा उपनियम (१) बमोजिम त्यस्तो दलको लागि निर्धारण गरिएको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम दलको लागि निर्धारण गरिएको निर्वाचन चिन्ह त्यस्तो दलका उम्मेदवार बाहेक अरु कसैले पनि प्रयोग गर्न पाउने छैन । (४) यस नियम बमोजिम स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा उपनियम (१) बमोजिम स्वतन्त्र उम्मेदवारको लागि निर्धारण गरेको निर्वाचन चिन्हको समूहबाट उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा प्राथमिकता दिई उम्मेदवारले रोजेको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।