नियम १४
निर्वाचन चिन्ह
(१) निर्वाचन अधिकृतले ऐनको दफा २६ को उपदफा (६) बमोजिमका दलका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा त्यस्तो दलको निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिम निर्वाचन चिन्ह प्राप्त नगर्ने दलको उम्मेदवार वा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दा आयोगले स्वतन्त्र रुपमा खडा भएका उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिन्हहरुको समूहबाट निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले उपनियम (२) बमोजिम निर्वाचन चिन्ह प्रदान गर्दा त्यस्ता उम्मेदवारलाई निर्वाचन चिन्ह रोज्न लगाई उम्मेदवार वा निजको प्रतिनिधिको रोहवरमा निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ । तर निर्वाचन चिन्ह प्रदान गर्दा कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित नभएमा उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिले रोजी बाँकी रहेको निर्वाचन चिन्हबाट निर्वाचन अधिकृतले निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्वाचन चिन्ह रोज्न लगाउँदा एक भन्दा बढी उम्मेदवारले एउटै निर्वाचन चिन्ह रोजेमा त्यस्तो उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा निर्वाचन चिन्ह प्रदान गर्नु पर्नेछ ।
(५) निर्वाचन अधिकृतले यस नियम बमोजिम निर्वाचन चिन्ह प्रदान गरेको सूचना अनुसूची–१० बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गरी सोको जानकारी आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।