दफा ५४
निर्वाचन परिणामको प्रकाशन
(१) कुनै निर्वाचनको मतगणनाको कार्य पूरा भइसकेपछि निर्वाचन अधिकृतले तोकिए बमोजिम मतगणनाको तालिका तयार गरी तोकिए बमोजिम निर्वाचन परिणाम प्रकाशन गर्नेछ र त्यस्तो परिणाम तालिकाको एक प्रति तुरुन्त आयोगमा पठाउनु पर्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिम निर्वाचनको परिणाम प्रकाशन गर्दा सबै भन्दा बढी सदर मत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गर्नु पर्नेछ र तोकिए बमोजिम निर्वाचित भएको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको पदमा सबै भन्दा बढी मत प्राप्त गर्ने देहाय बमोजिमका उम्मेदवार निर्वाचित भएको घोषणा गर्नु पर्नेछः-
(क) गाउँपालिका वा नगरपालिकाको वडा समितिका महिला वडा सदस्य पदमा सबै भन्दा बढी मत पाउने एकजना, दलित महिला सदस्य पदको लागि उम्मेदवारी दिएका मध्ये सबै भन्दा बढी मत पाउने एकजना र अन्य वडा सदस्य पदमा सबै भन्दा बढी मत पाउने दुई जना उम्मेदवार,
(ख) गाउँ कार्यपालिकाकोमहिला सदस्य पदमा सबै भन्दा बढी मत पाउने चार जना उम्मेदवार,
(ग) गाउँ कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्य पदमा सबै भन्दा बढी मत पाउने दुई जना उम्मेदवार,
(घ) नगर कार्यपालिकाको महिला सदस्य पदमा सबै भन्दा बढी मत पाउने पाँच जना उम्मेदवार,
(ङ) नगर कार्यपालिकाका दलित वा अल्पसङ्ख्यक समुदायबाट हुनेसदस्य पदमा सबै भन्दा बढी मत पाउने तीन जना उम्मेदवार ।
(४) निर्वाचनको परिणाम प्रकाशन गरिसकेपछि निर्वाचन सम्बन्धी तोकिए बमोजिमका विवरणहरु समेत भएको आफ्नो प्रतिवेदन तयार गरी निर्वाचन अधिकृतले मुख्य निर्वाचन अधिकृत समक्ष र मुख्य निर्वाचन अधिकृतले आयोगमा यथाशीघ्र पठाउनु पर्नेछ ।