नियम २१
निर्वाचन प्रतिनिधि
(१) कुनै उम्मेदवारले निर्वाचनमा आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न एकजना निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम कुनै व्यक्ति निर्वाचन प्रतिनिधि हुन देहायको योग्यता भएको हुनु पर्नेछ ः- (क) नेपालको नागरिक, (ख) एक्काईस वर्ष उमेर पूरा भएको, (ग) मतदाता नामावली ऐन, २०७३ बमोजिम सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, (घ) साधारण लेखपढ गर्न जानेको, (ङ) अध्यादेशको दफा १२ बमोजिम उम्मेदवार हुन अयोग्य नभएको, (च) अन्य प्रचलित कानूनले अयोग्य नभएको । (३) उपनियम (२) को खण्ड (ङ) मा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचन प्रतिनिधि हुन आवश्यक पर्ने उमेरको हकमा सो उपनियमको खण्ड (ख) मा लेखिए बमोजिम हुनेछ । (४) निर्वाचन प्रतिनिधिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः- (क) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्यमा उम्मेदवारको प्रतिनिधित्व गर्ने, (ख) मतदान, मतगणना वा निर्वाचन सम्बन्धी अन्य कार्य गर्दा तयार गर्नुपर्ने विभिन्न मुचुल्कामा उम्मेदवारको प्रतिनिधिको रुपमा सहीछाप गर्ने, (ग) निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने । (५) उपनियम (१) बमोजिम उम्मेदवारले निर्वाचन प्रतिनिधि नियुक्त गरेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतलाई दिनु पर्नेछ । (६) निर्वाचन अधिकृतले निर्वाचन प्रतिनिधिलाई आयोगले तोके बमोजिमको परिचयपत्र दिनु पर्नेछ ।