दफा ७८
निलम्बन गर्ने
(१) कुनै कर्मचारीको सम्बन्धमा दफा ७४ मा लेखिएको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्नेछ ।
तर देहायको अवस्था नभई साधारणतया निलम्बन गरिने छैनः–
(क) निलम्बन नगरी ओहदाको काम गर्न दिंदा झुट्टा सबूत प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धका सबूत प्रमाण गायव गर्नसक्ने सम्भावना देखिएमा, वा
(ख) निलम्बन नगरी ओहदाको काम गर्न दिंदा सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा ।
(२) कर्मचारीलाई स्वास्थ्य सेवाबाट हटाउने वा बर्खास्त गर्ने अभियोगको सूचना दिनुको साथै निजलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन समेत गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम कुनै कर्मचारीलाई निलम्बन गर्दा साधारणतः दुई महीना भन्दा बढी गर्नु हुँदैन । सो अवधि भित्रै कर्मचारी उपर गरिएको कारबाहीको किनारा लगाउनु पर्नेछ । कुनै असाधारण अवस्था परी उक्त अवधिभित्र कारबाही किनारा लगाउन नसकिने भै निलम्बनको अवधि बढाउनु परेमा अख्तियारवालाको पूर्वस्वीकृति लिई एक महिनासम्म निलम्बनको अवधि बढाउन सकिनेछ ।
(४) नैतिक पतन देखिने फौज्दारी अभियोगमा गिरफ्तार भई थुनिएको कर्मचारी त्यसरी थुनिएको अवधिभर स्वतः निलम्बन भएको मानिनेछ ।