दफा
निवेदन उपर कारबाही गर्नुपर्ने
: (१) कुनै कम्पनीका सम्बन्धमा दामासाहीसम्बन्धी कारबाही गर्न वा गराउन दफा ४ बमोजिम निवेदन पर्न आएमा सो निवेदन यस ऐनबमोजिम रीतपूर्वक दाखिला गरेको भए अदालतले दर्ता गरी पन्ध्र दिनभित्र सोउपर सुनुवाई हुने गरी तारिख तोक्नु पर्नेछ ।
(२) कम्पनी आफैँले दामासाहीसम्बन्धी कारबाहीको लागि निवेदन दिएकोमा बाहेक उपदफा (१) बमोजिमको निवेदन दर्ता भएपछि त्यस्तो कारबाही गर्नु नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित विवरण पेश गर्न सम्बन्धित कम्पनीको नाममा सूचना जारी गरी सो
कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउनु पर्नेछ ।
(३) अदालतले मनासिब देखेमा यस दफाबमोजिमको निवेदनउपर सुनुवाई हुनु अगावै आवश्यकता अनुसार दफा ८ को उपदफा (१) मा उल्लेख भएका अधिकारीलाई निवेदकको माग अनुसार कुनै कारबाही गर्नु नपर्ने कुनै कारण भए सोको विवरण सुनुवाईको लागि तोकिएको दिनभन्दा अगावै अदालतमा पेश गर्न आदेश दिन सक्नेछ र सोको जानकारी सम्बन्धित कम्पनीका शेयरवालाहरू, साहूहरू वा सम्बन्धित कम्पनीसँग कारोबार भएका अन्य व्यक्ति वा त्यस्तो कम्पनी धितोपत्र बजारमा सूचिकृत गरिएको भए सम्बन्धित धितोपत्र बजारले समेत पाउने गरी राष्ट्रियस्तरका कुनै दैनिकपत्रिकामा कम्तीमा दुईपटक प्रकाशन गर्नु पर्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम जारी भएको वा प्रकाशन भएको सूचना प्राप्त गर्ने कम्पनी वा व्यक्तिले सम्बन्धित कम्पनीको दामासाहीसम्बन्धी कारबाही गर्नु नपर्ने कुनै कारण भएमा अदालतले तोकेको म्यादभित्र सोको आधार सहित लिखितरूपमा विवरण पेश गर्नु पर्नेछ ।