दफा ३६
निवेदन दिन सक्ने
(१) कसैले यस ऐन विपरीत प्रारम्भिक वातावरणीय परीक्षण, संक्षिप्त वातावरणीय अध्ययन वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदनको विपरीत हुने गरी प्रस्ताव कार्यान्वयन गरेमा वा यस ऐन विपरीत हुने कार्य गरेमा वा गर्न लागेमा सम्बन्धित निकाय वा अधिकारी समक्ष निवेदन दिन सक्नेछ।

(२) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका वा मापदण्ड बिपरीत प्रदूषण गरेको वा जोखिमपूर्ण पदार्थ निष्कासन गरेको वा कुनै दुर्घटनाजन्य प्रदूषणका कारणबाट कुनै व्यक्ति, संस्था वा स्थानीय समुदायलाई कुनै हानि नोक्सानी पुग्न गएमा त्यस्तो कार्यबाट पीडित व्यक्ति, संस्था वा स्थानीय समुदायले आफूलाई पुग्न गएको क्षति बापत सम्बन्धित निकाय समक्ष क्षतिपूर्ति भराई पाउन निवेदन दिन सक्नेछ।

(३) उपदफा (१) वा (२) बमोजिम परेको निवेदनका सम्बन्धमा छानबिन तथा जाँचबुझ गर्दा निवेदकलाई हानि नोक्सानी भएको ठहरेमा क्षतिको यकिन गरी त्यसरी हानि नोक्सानी पुच्याउने व्यक्ति, संस्था वा प्रस्तावकबाट पीडित व्यक्ति, संस्था वा स्थानीय समुदायलाई मनासिब क्षतिपूर्ति भराइदिनु पर्नेछ।

(४) नेपाल सरकारको कुनै निकाय वा नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको संस्थाले प्रदूषण गरी क्षति पुगेको विषयमा परेको निवेदन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले मनोनयन गरेका तीनजना विज्ञ रहेको समिति गठन हुनेछ र सो समितिको सिफारिसको आधारमा उपदफा (३) बमोजिम क्षतिपूर्ति भराई दिनु पर्नछ।
(५) प्रदेश सरकार वा स्थानीय तहको कुनै निकाय वा प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको संस्थाले प्रदूषण गरी क्षति पुगेको विषयमा परेको निवेदन सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले मनोनयन गरेका तीनजना विज्ञ रहेको समिति गठन हुनेछ र सो समितिको सिफारिसको आधारमा उपदफा (३) बमोजिम क्षतिपूर्ति भराई दिनु पर्नेछ।

(६) यस दफा बमोजिम क्षतिपूर्ति निर्धारण गर्ने आधार र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।