नियम ८१
नेतृत्व मूल्याङ्कन सम्बन्धी व्यवस्था
-
(१) राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको नेतृत्व मूल्याङ्कनका लागि देहायको मूल्याङ्कन समिति गठन गरिनेछ :-
(क) महासचिव – संयोजक
(ख) सचिव – सदस्य
(ग) सचिवालय सचिव – सदस्य
(घ) समितिले तोकेको प्रशासन तथा व्यवस्थापन विशेषज्ञ – सदस्य
(ङ) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक – सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले नेतृत्व मूल्याङ्कन गर्दा प्रत्येक वर्षको आषाढ मसान्तसम्म राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने सेवा अवधि पूरा भएका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको नेतृत्व क्षमताको मूल्याङ्कन गरी प्रत्येक वर्षको आषाढ महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्नेछ । नेतृत्व मूल्याङ्कन समितिलाई आवश्यक पर्ने सूचना सचिवालयले उपलव्ध गराउनु पर्नेछ ।
(३) नेतृत्व मूल्याङ्कन समितिले उपनियम (२) बमोजिम नेतृत्व मूल्याङ्कन गर्दा कर्मचारीको नीति विश्लेषण क्षमता, नेतृत्व लिन सक्ने क्षमता, निर्णय गर्ने क्षमता, सेवाग्राही वर्गको सन्तुष्टी, वेरुजु फछ्र्यौटको प्रगति, सामूहिक कार्य प्रणाली, पेशागत संवेदनशीलता र अन्तरवैयक्तिक सम्बन्धलाई आधार मान्नु पर्नेछ । यस उपनियम बमोजिम समितिले नेतृत्व मूल्याङ्कन गर्दा सम्बन्धित कर्मचारी
अन्तर्गत कार्यरत कर्मचारीबाट गोप्य रूपमा काम प्रतिको व्यवहार र आचरणको मूल्याङ्कन गर्न सक्नेछ ।
(४) उपनियम (२) को प्रतिवेदनमा मूल्याङ्कन गर्दा उपनियम (३) बमोजिमका आधारहरू अनुसार सम्बन्धित कर्मचारीको स्तर स्पष्ट रूपमा खुलेको हुनु पर्नेछ ।
(५) समितिले ऐनको दफा २६ बमोजिम बढुवा गर्दा उक्त प्रतिवेदनलाई आधार मान्नु पर्नेछ ।
(६) उपनियम (२) बमोजिम पेश भएको प्रतिवेदन गोप्य राखिनेछ । तर सम्बन्धित कर्मचारीले निवेदन दिई माग गरेमा निजको स्तरको बारेमा जानकारी दिनु पर्नेछ ।
(७) नेतृत्व मूल्याङ्कनको अन्य आधारहरू तथा कार्यविधि नेतृत्व मूल्याङ्कन समितिले तय गरी निर्धारण गर्नेछ ।
(८) उपनियम (१) बमोजिमको मूल्याङ्कन समितिको सचिवालय व्यवस्थापिका– संसद सचिवालयमा रहनेछ ।