दफा
नेपाल सरकारको स्वीकृति लिएर चिठ्ठा खोल्ने :

(१) कुनै व्यक्ति वा संस्थाले चिठ्ठा खोल्न चाहेमा खोल्न चाहेको चिठ्ठाको पूर्ण विवरण सहितको लिखित निवेदन नेपाल सरकार समक्ष दिएमा र नेपाल सरकारले सो काम मनासिब ठहयाएमा अनुमति दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम चिठ्ठा खोल्न अनुमति प्राप्त गर्ने व्यक्ति वा संस्थाले देहायमा लेखिएको शर्त बन्देजको अधीनमा रही चिठ्ठाको विक्री वितरण रसञ्चालन गर्न समेत सक्नेछ :–
(क) कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धी कार्यको सहायतार्थ चिठ्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउनेछ र त्यसरी चिठ्ठा खोल्दा चिठ्ठा बिक्री भई प्राप्त भएको कूल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिनेछ । यस पछि बाँकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धी र चिठ्ठा
सञ्चालन सम्बन्धी काममा लगाउन सक्नेछ ।
(ख) परोपकारी वा सार्वजनिक हित सम्बन्धी कार्यको सहायतार्थ खोलिएकोमा बाहेक अरु चिठ्ठाको पुरस्कार नगदीमा हुने छैन र चिठ्ठा खोल्दा चिठ्ठा बिक्री भै प्राप्त भएको कूल रकम मध्येबाट ७५ प्रतिशत मूल्य बराबरको जिन्सी सामान पुरस्कार स्वरुप वितरण गरिनेछ । यस पछि बाँकी हुन आएको रकमलाई सम्बन्धित चिठ्ठा सञ्चालन गर्ने व्यक्ति वा संस्थाले मुनाफास्वरुप र चिठ्ठा सञ्चालन सम्बन्धी कामको लागि लिन सक्नेछ ।
(ग) सबै चिठ्ठाको प्रतिमा निम्नलिखित कुराहरु खोलिएको हुनुपर्छ :
१. चिठ्ठाको मूल्य,
२. पुरस्कारको विवरण,
३. चिठ्ठा खोलिने स्थान,
४. चिठ्ठा बिक्री वितरण र सञ्चालन गर्ने संस्थाको नाम,
५. चिठ्ठाको क्रम संख्या,
६. चिठ्ठा खुल्ने र बन्द हुने मिति, र
७. नेपाल सरकार वा अधिकार प्राप्त अधिकारीबाट चिठ्ठा खुल्ने अनुमति प्राप्त भएको मिति ।

(घ) कुनै सार्वजनिक प्रर्दशनी स्थल वा क्लव वा सोसाइटी जस्तो ठाउँमा खोल्न वा सञ्चालन गर्न अनुमति पाएमा त्यस्तो ठाउँमा बाहेक अन्यत्र चिठ्ठाको बिक्री वितरण गर्न र सञ्चालन गर्न पाइने छैन ।
(ङ) प्रत्येक चिठ्ठाको मूल्य बराबर हुनु पर्छ ।
(च) चिठ्ठाको पूरा मूल्य भुक्तान नभई चिठ्ठा बिक्री गर्न पाउने छैन ।
(छ) एक पटक बिक्री भइसकेको चिठ्ठा फिर्ता हुने छैन ।
(ज) यो ऐन अन्तर्गत बनेका नियममा तोकिएको कार्यविधि अपनाउनु पर्नेछ ।

(३) चिठ्ठाको बढीसे बढी कूल पूँजी तोक्ने र प्रत्येक चिठ्ठाको मूल्य निर्धारण गर्ने हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश निकाल्न
सक्नेछ ।