(१) न्याय परिषदको प्रशासकीय प्रमुखको रूपमा नेपाल न्याय सेवाको राजपत्रांकित
विशिष्ट श्रेणीको एकजना सचिव रहनेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त न्याय परिषदको सचिवको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) न्याय परिषदले गरेको निर्णय कार्यान्वयन गर्ने गराउने,
(ख) न्याय परिषदको सचिवालयमा रहने अभिलेख प्रमाणित गरी अद्यावधिक, व्यवस्थित र सुरक्षित राख्ने,
(ग) न्याय परिषदको कर्मचारीलाई कार्यविभाजन गरी काममा लगाउने,
(घ) न्याय परिषदको सचिवालयको काम कारवाहीको अनुगमन, नियन्त्रण, सुपरीवेक्षण गर्ने,
(ङ) न्याय परिषदको निर्णय सम्बन्धित व्यक्ति वा निकायलाई जानकारी गराउने,
(च) नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग आवश्यकता अनुसार सम्पर्क र समन्वय गर्ने,
(छ) न्याय परिषदले तोकेको अन्य काम गर्ने
(३) न्याय परिषदको सचिवले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार कुनै अधिकार आफू मातहतको कुनै राजपत्रांकित अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।