दफा
न्यायाधिकरणको अधिकारक्षेत्रको प्रयोग

(१) न्यायाधिकरणको अधिकारक्षेत्रको प्रयोग तीनै सदस्यले सामूहिक रूपले गर्नेछन् र बहुमतको राय न्यायाधिकरणको निर्णय मानिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून सदस्य र अर्को एकजना सदस्यको उपस्थिति भएमा मुद्दाको कारवाई र किनारा गर्न सकिनेछ । कानून सदस्य बाहेक अरू दुईजना सदस्यको उपस्थितिमा मुद्दाको फैसला गर्न वा अन्तिम आदेश दिन बाहेक अरू कारवाई गर्न सकिनेछ । अरू सदस्यहरूको अनुपस्थितिमा कानून सदस्यले मुद्दाको फैसला गर्न वा अन्तिम आदेश दिन बाहेक अरू कारवाही गर्न बाधा पर्ने छैन ।

(३) उपदफा (२) बमोजिम दुईजना सदस्यको उपस्थितिमा मुद्दाको कारवाही वा किनारा गर्दा दुईजनाको मतैक्य हुन नसकेमा कारवाहीको हकमा अध्यक्षता गर्ने सदस्यको रायबमोजिम गर्नुपर्छ र फैसला वा अन्तिम आदेशको हकमा पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय न्यायाधिकरणको राय मानिनेछ ।

(४) तीनजना सदस्यको उपस्थितिमा मुद्दाको कारवाही गर्दा तीनजनाको भिन्दाभिन्दै राय भएमा अध्यक्षको राय बमोजिम गर्नुपर्छ र मुद्दाको किनारा गर्दा तीनै जनाको भिन्दाभिन्दै राय भएमा वा उपदफा (३) बमोजिम दुईजना सदस्यको उपस्थितिमा मुद्दाको किनारा गर्दा मतैक्य हुन नसकी पहिले अनुपस्थिति रहेको सदस्य समक्ष पेश हुँदा तीन राय भएमा  उच्च अदालतमा साधक जाहेर गर्नु पर्नेछ र सो अदालतको डिभिजन बेन्चबाट भएको निर्णय अन्तिम हुनेछ ।