दफा ५८
पक्राउ गर्ने अधिकार
(१) यस ऐन बमोजिमको कुनै कसुरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान गर्ने अधिकारीले सोको कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई अनुसन्धान अधिकारी, वन सम्बन्धी कर्मचारी वा सुरक्षाकर्मीले पक्राउ गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसुर गर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबुद नष्ट गर्ने मनासिब कारण भएमा वा कसुरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसुर गरिरहेको अवस्थामा फेला परेमा अनुसन्धान अधिकारी, वन सम्बन्धी कर्मचारी वा सुरक्षाकर्मीले त्यस्तो व्यक्तिलाई तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गरी मुद्दा हेर्ने अधिकारी समक्ष स्वीकृतिको लागि पक्राउ परेको व्यक्ति सहित उपस्थित गराउनु पर्नेछ।

तर यसरी पक्राउ गरिनु पर्ने व्यक्ति महिला भएमा सम्भव भएसम्म वनसम्बन्धी महिला कर्मचारी वा महिला सुरक्षाकर्मीको प्रयोग गर्नु पर्नेछ।

(५) कुनै कसुरको सिलसिलामा पक्राउ गरिएको व्यक्तिको सम्बन्धमा चौबीस घण्टाभित्र तहकिकात पूरा नहुने भई निजलाई थुनामा राखी तहकिकात जारी राम्नु पर्ने देखिएमा तहकिकात गर्ने कर्मचारीले निजलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर मात्र थुनामा राख्नु पर्नेछ। सो बमोजिम अनुमति माग्दा थुनामा परेको व्यक्ति उपरको अभियोग त्यसको आधार निजलाई थुनामै राखी तहकिकात गर्नु पर्ने कारण र निजको बयान कागज भइसकेको भए बयान कागजको व्यहोरा स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।

(६) उपदफा (५) बमोजिम थुनामा राख्ने अनुमति मागेमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरू हेरी तहकिकात सन्तोषजनक रूपमा भए वा नभएको विचार गरी सन्तोषजनक रूपमा तहकिकात भइरहेको देखिएमा पटक पटक गरी बढीमा पच्चीस दिनसम्म थुनामा राख्ने अनुमति दिन_सक्नेछ।