दफा ५०
सजाय
(१) दफा ४९ को खण्ड (क) अन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(२) दफा ४९ को खण्ड (ख) अन्तर्गतको कसुर गर्नेलाई एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(३) दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेसिनरी औजार साधन समेत जफत हुनेछ। त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए निजलाई सो बापत हुने सजाय समेत हुनेछ।

(४) दफा ४९ को खण्ड (घ) अन्तर्गतको कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(५) दफा ४९ को खण्ड (ङ) अन्तर्गतको कसुर गर्नेलाई प्रत्येक चौपायाको लागि देहायको दरले जरिबाना हुनेछः-

(क) - भेडा बाख्रा जातको भए पचास रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म,

(ख) हात्ती भए एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म,

(ग) अन्य चौपाया भए एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म ।

(६) दफा ४९ को खण्ड (च) (छ) (ज) (झ) वा (ज) अन्तर्गतको कसुर गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी देहाय बमोजिमको सजाय हुनेछः-

(क) एक हजार रुपैयाँसम्मको बिगो भए एक हजार रुपैयाँसम्म जरिबाना,

(ख) एक हजार रुपैयाँदेखि माथि पाँच हजार रुपैयाँसम्मको बिगो भए एक महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै,

(ग) पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्मको बिगो भए तीन महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै,

(घ) पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको बिगो भए छ महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै,
(ङ) एक लाख रुपैयाँदेखि पाँच लाख रूपैयाँसम्मको बिगो भए एक वर्षसम्म

कैद वा बिगो बमोजिम जरिबाना वा दुवै,

(च) पाँच लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद वा

बिगोको दोब्बर जरिबाना वा दुवै।

(७) दफा ४९ को खण्ड (ट) अन्तर्गतको कसुर गर्नेलाई कसुरसँग सम्बन्धित वन पैदावार जफत गरी तीन वर्षसम्म कैद वा बिगोको दोब्बर जरिबाना वा दुवै सजाय हुनेछ।

(८) दफा ४९ को खण्ड (ठ) वा (ड) अन्तर्गतको कसुर गर्नेलाई एक वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(९) दफा ४९ को खण्ड (ढ) अन्तर्गतको कसुर गर्नेलाई प्रति बिरुवाको पाँच सय रुपैयाँसम्म जरिबाना हुनेछ र सोही कसुर पुनः गर्नेलाई कसुरको मात्रा अनुसार प्रत्येक पटक एक वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(१०) दफा ४९ को खण्ड (ण) अन्तर्गतको कसुर गर्नेलाई बिगो असुल गरी छ महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(११) दफा ४९ को खण्ड (त) अन्तर्गतको कसुर गर्नेलाई बन्यजन्तु संरक्षण सम्बन्धी प्रचलित कानून बमोजिमको सजाय हुनेछ।

(१२) दफा ४९ को खण्ड (थ) अन्तर्गतको कसुर गर्नेलाई त्यस्तो कसुरमा हुने सजायमा थप दुई लाख रुपैयाँसम्म जरिबाना हुनेछ।

(१३) दफा ४९ को खण्ड (द) अन्तर्गतको कसुर गर्नेलाई बिगो भए बिगो असुल गरी एक वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(१४) दफा ४९ को खण्ड (ध) अन्तर्गतको कसुर गर्नेलाई बिगो भए बिगो असुल गरी छ महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।