नियम ५३
पट्टा खारेज गर्न सक्ने
(१) पट्टावालाले पट्टा बमोजिम कार्य संचालन गर्न नसकेको, वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने कुनै कार्य गरेको वा ऐन वा यस नियमावली बमोजिम पालना गर्नु पर्ने कुराहरु पालन नगरेको भनी उजुरी परेमा वा अन्य कुनै स्रोतबाट पट्टावालाले निषेधित कार्य वा कार्य योजना विपरित कार्य गरेको देखिएमा निर्देशकले प्राविधिक कर्मचारी खटाइ पट्टावाला वा निजको प्रतिनिधिको रोहवरमा स्थलगत निरीक्षण गरी सोको प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको स्थलगत निरीक्षण प्रतिवेदनबाट वा नियम ५२ को उपनियम (२) बमोजिम पेश भएको मूल्याङ्कन प्रतिवेदनबाट पट्टावालाले निषेधित कार्य गरेको देखिन आएमा निर्देशकले सम्बन्धित पट्टावालाललई बढीमा पैतिस दिनको म्याद दिई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पट्टावालाले पेश गरेको सफाई सन्तोषजनक नभएमा त्यस्तो सफाई पेश भएको मितिले पैतालिस दिनभित्र निर्देशकले पट्टा खारेज गरी कबुलियती वन फिर्ता लिन
सक्नेछ ।
(४) उपनियम (३) बमोजिम पट्टा खारेज गरी कबुलियती वन फिर्ता लिने निर्णय भएकोमा त्यस्तो कबुलियती वनमा पट्टावालाले लगाई हुर्काएको वन पैदवारको हकमा निर्देशकले जिल्ला वन कार्यालयलाई उक्त वन पैदावारको मूल्याङ्कन गर्न लगाई अनुसूची–२ बमोजिमको रकम क्षतिपूर्ति बापत पट्टावालालाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम गरिएको वन पैदावारको मूल्याङ्कनमा पट्टावाला सहमत नभएमा मध्यस्थता ऐन, २०५५ बमोजिम उक्त विवाद टुंगो लगाइनेछ ।
(६) उपनियम (४) वा (५) बमोजिम निर्धारण भएको क्षतिपूर्ति दिंदा पट्टावालाले पट्टामा उल्लेखित शर्त विपरित काम गरेको कारण भएको हानी नोक्सानीको बिगो बापतको रकम कट्टा गरी बाँकी रकम मात्र पट्टावालालाई दिनु पर्नेछ ।