नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा,
(क) “ऐन” भन्नाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ सम्झनु पर्छ ।
(ख) “टाईप प्रमाणपत्र” भन्नाले वायुयानको प्रकृति अनुसारको विशेष प्रकारको प्रमाणपत्रलाई सम्झनु पर्छ र सो शब्दले वायुयानको प्रकार एवं व्यक्तिले प्राप्त गरेको दक्षता समेतलाई जनाउँछ ।
(ग) “महासन्धि” भन्नाले ७ डिसेम्बर १९४४ मा शिकागोमा हस्ताक्षरको लागि खुल्ला राखिएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धि सम्झनु पर्छ र सो शब्दले

(१) सो महासन्धिको धारा ९४ (क) बमोजिम लागु भएको र दुबै पक्षले अनुमोदन गरेको त्यसको कुनै संशोधनहरु, र
(२) निर्धारित समयभित्र दुबै पक्षको लागि लागु भएको हदसम्म सो महासन्धिको धारा ९० बमोजिम पारित भएको कुनै एनेक्स वा त्यस्तो एनेक्समा भएको कुनै संशोधन समेतलाई जनाउँछ ।
(घ) “एनेक्स” भन्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धिसँग आवद्ध भै सो संगठनद्वारा निधारित अन्तर्राष्टिय स्तर र अनुसंशित विधि (ईन्टरनेशन्ल स्टाण्डर्ड्स एण्ड रिकमेन्डेड प्राक्टिसेस) सम्झनु पर्छ ।
∗ मिति २०५८।१२।८ मा स्वीकृत भएको ।
(ङ) “म्यानुअल” भन्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट निर्धारित नियम, म्यानुअल तथा स्टाण्डर्ड्हरुको कार्यान्वयनको लागि प्राधिकरणले ऐन र यस नियमावलीको विपरित नहुने गरी नियम ८२ बमोजिम बनाभएको म्यानुअल, रिक्वायरमेण्टस तथा डाइरेक्टिभ्स समेतलाई सम्झनुपर्छ ।
(च) “क्रु” भन्नाले ऐन तथा यस नियमावली बमोजिम ब्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्राप्त वायुयान चालक (पाइलट) वायुयान सह–चालक (को–पाइलट), फ्लाईट इन्जिनियर रेडियो अफसिर, फ्लाईट नेभिगेटर, एयर होस्टेस, केबिन
एटेण्डेण्ट र पर्सरहरु सम्झनुपर्छ ।
(छ) “ब्यक्तिगत ईजाजतपत्र (पर्सनेल लाइसेन्सीङ्ग), रेटिंग तथा प्रमाणपत्र” भन्नाले नियम ३३ बमोजिम प्रदान गरिने ब्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र सम्झनुपर्छ ।
(ज) “आर्थिक वर्र्ष” भन्नाले प्रत्येक वर्र्षको श्रावण संक्रान्ति देखि अर्को वर्र्षको आषाढ मसान्तसम्मको अवधि सम्झनुपर्छ ।