दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अदालत” भन्नाले संविधानको धारा १३७ को उपधारा (१) बमोजिमको सर्वोच्च अदालतको संवैधानिक इजलास सम्झनु पर्छ ।
(ख) “अल्पसङ्ख्यक समुदाय” भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधीनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ ।
(ग) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(घ) “उम्मेदवार” भन्नाले दफा १८ बमोजिम प्रदेश सभाको सदस्यमा उम्मेदवार हुन मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले दफा २८ बमोजिम उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिलाई समेत जनाउँछ ।
(ङ) “उम्मेदवारको बन्दसूची” भन्नाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारी दिने प्रयोजनका लागि दलले दफा २८ बमोजिम आयोग समक्ष पेश गरेको बन्दसूची सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा वा आयोगले दफा ७६ बमोजिम जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(छ) “दल” भन्नाले निर्वाचनको प्रयोजनको लागि आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले एकल चुनाव चिह्न लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलहरुको समूहलाई समेत जनाउँछ ।
(ज) “निर्वाचन” भन्नाले प्रदेश सभाका सदस्यको निर्वाचन सम्झनु पर्छ र सो शब्दले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित सदस्यको पद रिक्त भएको अवस्थामा गरिने उपनिर्वाचनलाई समेत जनाउँछ ।
(झ) “निर्वाचन अधिकृत” भन्नाले दफा ८ बमोजिम आयोगबाट नियुक्त भएको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ ।
(ञ) “निर्वाचन क्षेत्र” भन्नाले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि सङ्घीय कानून बमोजिम निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्र सम्झनु पर्छ ।
(ट) “निर्वाचन प्रतिनिधि” भन्नाले दफा ६३ बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधि सम्झनु पर्छ ।
(ठ) “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली” भन्नाले दफा ४ बमोजिमकोनिर्वाचन प्रणाली सम्झनु पर्छ ।
(ड) “पिछडिएको क्षेत्र” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्रत्येक प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्र सम्झनु पर्छ ।
(ढ) “प्रदेश सभा” भन्नाले संविधानको धारा १७६ बमोजिम गठन हुने प्रदेश सभा सम्झनु पर्छ ।
(ण) “मतदाता” भन्नाले सङ्घीय कानून बमोजिम निर्वाचनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति सम्झनु पर्छ ।
(त) “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नको लागि व्यवस्था गरिएको मतपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो विद्युतीय उपकरणमा प्रयोग हुने मतपत्र वा त्यस्तो उपकरणमा जडित डिजिटल मतपत्रलाई समेत जनाउँछ ।
(थ) “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नको लागि आयोगले व्यवस्था गरेको मतपेटिका सम्झनु पर्छ र सो शब्दले विधुतीय उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई अभिलेख गर्ने विधुतीय उपकरणलाई समेत जनाउँछ ।
(द) “मतदान अधिकृत” भन्नाले दफा ११ बमोजिम नियुक्त भएको मतदान अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक मतदान अधिकृतलाई समेत जनाउँछ ।
(ध) “सदस्य” भन्नाले प्रदेश सभाको सदस्य सम्झनु पर्छ ।
(न) “समानुपातिक निर्वाचन प्रणाली” भन्नाले दफा ५ बमोजिमको निर्वाचन प्रणाली सम्झनु पर्छ ।
(प) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।