नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अनुवांशिक परिमार्जित बस्तु (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म)” भन्नाले पुनर्संयोजन गरिएको डिअक्सिराईवो न्यूक्लिक एसिड (डि.एन.ए.) प्रविधिद्वारा एक प्रजातिको जीन अर्को प्रजातिमा प्रतिस्थापन गरिएको कुनै बिरुवा वा बिरुवाजन्य उपज सम्झनु पर्छ र सो शब्दले यस्ता बिरुवाजन्य उपजबाट उत्पादन भएको उपपदार्थ (बाईप्रोडक्ट) समेतलाई जनाउँछ ।
(ख) “ऐन” भन्नाले बिरुवा संरक्षण ऐन, २०६४ सम्झनु पर्छ ।
(ग) “कार्यालय प्रमुख” भन्नाले ऐनको दफा ३३ बमोजिम स्थापित कार्यालयको प्रमुख सम्झनु पर्छ ।
“(ग१) "केन्द्र" भन्नाले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र सम्झनु पर्छ।

(गर) "जर्मप्लाज्म" भन्नाले खेती गरिएका वा प्राकृतिक वासस्थानमा रहेका बाली बिरुवा, वनस्पति वा सृक्षम जीवाणुको जीवित र वंशानुगत गुण रहेको पूर्ण वा आंशिक भाग वा सोको क्रियात्मक इकाइ (फङ्गसनल युनिट अफ हेरिडिटी) सम्झनु पर्छ। "

(घ) “जीवित परिमार्जित वस्तु (लिभिङ्ग मोडिफाइड अर्गानिज्म)” भन्नाले आधुनिक जैविक प्रविधिको उपयोगबाट बिरुवामा भएका अनुवांशिक गुणलाई आनुवांशिक पदार्थको संयोजनद्वारा परिमार्जन गरिएको कुनै बिरुवा वा पुनर्उत्पादन हुन सक्ने बिरुवाजन्य उपज सम्झन ुपर्छ ।
(ङ) “ट्रान्सजेनिक पदार्थ” भन्नाले पुनर्संयोजन गरिएको डिअक्सिराईवो न्यूक्लिक एसिड प्रविधिद्वारा रोग, कीरा तथा प्रतिकुल वातावरण अवरोधक जातहरुका साथै मानव र वातावरणलाई असर नपर्ने गरी प्रयोगशाला, शीशा घर र खेतवारीमा अनुसन्धान गरी निकालिएको बिरुवा तथा जीव सम्झनु पर्छ ।
(च) “प्रयोगशाला” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकि दिएको प्रयोगशाला सम्झनु पर्छ ।
(छ) “पोष्ट इन्ट्री क्वारेन्टाइन” भन्नाले पैठारी भएका बीउ, बिजन वा जीवित बिरुवालाई कुनै एक विशेष समयावधिसम्म शीशा, स्क्रीन वा प्लास्टिकद्वारा बनाईएको घर, अन्य कुनै त्यस्तै सुविधा भएको छुट्टै नर्सरी वा खेतमा रोपी गरिने स्वस्थता सम्बन्धी परीक्षण सम्झनु पर्छ ।
(ज) “शत्रुजीव मुक्त उत्पादन स्थल” भन्नाले कुनै विशेष प्रकारको शत्रुजीव नभएको भनी वैज्ञानिक आधारमा प्रमाणित भएको र निश्चित अवधिसम्म त्यस्तो अवस्था आधिकारीक रुपमा कायम राखिएको स्थल सम्झनु पर्छ ।
(झ) “शत्रुजीव मुक्त क्षेत्र” भन्नाले कुनै विशेष प्रकारको शत्रुजीव नभएको भनी वैज्ञानिक आधारमा प्रमाणित भएको र त्यस्तो अवस्था आधिकारीक रुपमा कायम राखिएको क्षेत्र सम्झनु पर्छ ।