नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यादेश” भन्नाले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ सम्झनु पर्छ ।
(ख) “कोटा” भन्नाले नियम ४२ को उपनियम (१) को खण्ड (ख) बमोजिम कायम हुन आउने एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम निर्वाचित हुन आवश्यक पर्ने मत सम्झनु पर्छ ।
(ग) “नगरपालिका” भन्नाले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सम्झनु पर्छ ।
(घ) “निर्वाचन कार्यक्रम” भन्नाले नियम ३ बमोजिमको निर्वाचन कार्यक्रम सम्झनु पर्छ ।
(ङ) “निर्वाचन कार्यालय” भन्नाले क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालय सम्झनु पर्छ ।
(च) “मतगणना प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतगणनाको काममा प्रतिनिधित्व गर्नको लागि नियम २३ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(छ) “मतदाता नामावली” अध्यादेशको दफा ४ बमोजिमको निर्वाचक मण्डलमा रहेका प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको नाम समावेश गरी तयार गरिएको मतदाता नामावली सम्झनु पर्छ ।
(ज) “मतदान केन्द्र” भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनको लागि अध्यादेशको दफा ३१ बमोजिम आयोगले तोकेको मतदान केन्द्र सम्झनु पर्छ ।
(झ) “मतदान प्रतिनिधि” भन्नाले उम्मेदवार वा निर्वाचन प्रतिनिधिले मतदान केन्द्रमा प्रतिनिधित्व गर्नको लागि नियम २२ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ञ) “मत मूल्य” भन्नाले उम्मेदवारले पहिलो प्राथमिकता प्राप्त गरेको मतपत्रको हकमा अध्यादेशको दफा ५५ बमोजिमको मतभार बमोजिमको मत मूल्य सम्झनु पर्छ र सो शब्दले सङ्क्रमण भई दोस्रो वा तेस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण भएको प्रत्येक मतपत्रको सङ्क्रमण मूल्यलाई समेत जनाउँछ ।
(ट) “मनोनयनपत्र” भन्नाले निर्वाचनमा उम्मेदवारीको लागि उम्मेदवार वा निजको तर्फबाट निर्वाचन अधिकृत समक्ष पेश भएको मनोनयनपत्र सम्झनु पर्छ ।
(ठ) “सङ्क्रमण मूल्य” भन्नाले निर्वाचित भएको उम्मेदवारले कोटा भन्दा बढी मत प्राप्त गरेमा त्यस्तो बढी मत दोस्रो वा तेस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण गर्ने प्रयोजनको लागि नियम ४२ को उपनियम (१) को खण्ड (छ) बमोजिम निर्धारण गरिएको मत मूल्य सम्झनु पर्छ र सो शब्दले मतगणना प्रकृयाबाट बाहेक गरिएको उम्मेदवारले प्राप्त गरेको मतवत्रमा निजको हकमा कायम रहेको मूल्यमा दोस्रो वा तेस्रो प्राथमिकताको उम्मेदवारलाई वितरण गरिने मत मूल्यलाई समेत जनाउँछ ।