दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्छ।
(ख) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले विद्युतको उत्पादन, प्रसारण, वितरण वा व्यापार गर्न प्रचलित कानून बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्था सम्झनु पर्छ।
(ग) “आयोग” भन्नाले दफा ३ बमोजिम स्थापना भएको विद्युत नियमन आयोग सम्झनु पर्छ।
(घ) “उपभोक्ता” भन्नाले विद्युत उपभोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(च) “मन्त्रालय” भन्नाले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्झनु पर्छ।
(छ) “महसुल” भन्नाले विद्युत सेवा उपभोग गरे बापत उपभोक्ताले वितरण अनुमतिपत्र प्राप्त व्यक्तिलाई बुझाउनु पर्ने विद्युत मूल्य, महसुल, शुल्क तथा अन्य दस्तुर सम्झनु पर्छ।
(ज) “विद्युत” भन्नाले पानी, खनीज तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य कुनै स्रोतबाट उत्पादन हुने विद्युत सम्झनु पर्छ।
(झ) “सचिव” भन्नाले दफा ३२ बमोजिम आयोगको सचिवको रूपमा काम गर्ने कर्मचारी सम्झनु पर्छ।
(ञ) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्षलाई समेत जनाउँछ ।