दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यक्ष” भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कार्यकारी निर्देशक” भन्नाले दफा २० बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “कोष” भन्नाले दफा २७ बमोजिमको स्वास्थ्य बीमा कोष सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “परिवार” भन्नाले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने व्यक्तिको एकासंगोलको पति, पत्नी, बाबु, आमा वा सौतेनी आमा, दाजु, भाइ, दिदी, बहिनी, छोरा, छोरी, बुहारी, धर्मपुत्र, धर्मपुत्री, नाति वा नातिनी सम्झनु पर्छ  र सो शब्दले पुरुष वा अविवाहित महिलाको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिलाको हकमा निजको सासु, ससुरा समेतलाई जनाउँछ ।
(च) “बीमित” भन्नाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भई योगदान रकम ( प्रिमियम) भुक्तानी गर्ने परिवार सम्झनु पर्छ ।
(छ) “बोर्ड” भन्नाले दफा १३ बमोजिमको स्वास्थ्य बीमा बोर्ड सम्झनु पर्छ ।
(ज) “मन्त्रालय” भन्नालेनेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्झनु पर्छ ।
(झ) “योगदान रकम (प्रिमियम)” भन्नाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भए बापत बीमितबाट प्राप्त रकम सम्झनु पर्छ र सो शब्दले त्यस्तो बीमितको तर्फबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, कुनै व्यक्ति वा सङ्गठित संस्थाले भुक्तानी गर्ने रकम समेतलाई जनाउँछ ।
(ञ) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले बोर्डको अध्यक्ष र सदस्य–सचिवलाई समेत जनाउँछ ।
(ट) “सेवा” भन्नाले दफा ५ बमोजिम बीमितले प्राप्त गर्ने सेवा सम्झनुपर्छ ।
(ठ) “सेवा प्रदायक” भन्नाले सेवा उपलब्ध गराउन बोर्डसँग सम्झौता गर्ने देहायको कुनै स्वास्थ्य संस्था सम्झनु पर्छ ः-
(१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारबाट सञ्चालित अस्पताल, स्वास्थ्य प्रतिष्ठान, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक वा इकाई,
(२) निजीस्तरबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक वा क्लिनिक,
(३) सामुदायिक, सहकारी, गैरसरकारी सङ्घ संस्थाबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक वा क्लिनिक,
(४) फार्मेसी वा निदानात्मक स्वास्थ्य सेवा प्रदान गर्ने संस्था,
(५) आयुर्वेद अस्पताल, होमियोप्याथी, अक्युपञ्चर उपचारका अस्पताल वा प्राकृतिक चिकित्सालय,
(६) स्वास्थ्य सेवा प्रदान गर्ने तोकिए बमोजिमका अन्य स्वास्थ्य संस्था ।
(ड) “स्वास्थ्य बीमा” भन्नाले सेवा प्राप्त गर्नको लागि बीमितले परिच्छेद–२ बमोजिम गर्ने स्वास्थ्य बीमा सम्झनु पर्छ ।