दफा ४१
परीक्षा नियन्त्रक, डीन, निर्देशक तथा प्राचार्य हटाउने
(१) दफा ३५ को उपदफा (३), दफा ३६ को उपदफा (३), दफा ३८ को उपदफा (५) र दफा ४० को उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि परीक्षा नियन्त्रक, डीन, निर्देशक तथा प्राचार्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी कसैले प्रमाण सहित कुलपति समक्ष निवेदन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको निवेदन उपर छानबिन गर्ने प्रयोजनको लागि कार्यकारी परिषद्ले परिषद्को कुनै सदस्यको अध्यक्षतामा तीनजना सदस्य रहेको एक छानबिन समिति गठन गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिमको छानबिन समितिले छानबिन गर्दा परीक्षा नियन्त्रक, डीन, निर्देशक वा प्राचार्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरूपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको देखिएमा त्यस्तो परीक्षा नियन्त्रक, डीन, निर्देशक वा प्राचार्यलाई पदबाट हटाउन कार्यकारी परिषद्मा सिफारिस गर्नेछ।
(४) उपदफा (३) बमोजिम सिफारिस प्राप्त भएमा कार्यकारी परिषद्ले त्यस्तो परीक्षा नियन्त्रक, डीन, निर्देशक वा प्राचार्यलाई पदबाट हटाउन कुलपति समक्ष सिफारिस गर्नेछ।
(५) उपदफा (४) बमोजिमको सिफारिसको आधारमा कुलपतिले परीक्षा नियन्त्रक, डीन, निर्देशक वा प्राचार्यलाई पदबाट हटाउनेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्न मनासिब मौका दिनु पर्नेछ।