४. पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाई सामग्री निर्माण तथा वितरण प्रक्रियालाई स्थानीयकरण गर्दै लैजाने सन्दर्भमा विकेन्द्रित गरिनेछ ।
यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू अपनाइने छन् ः
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सबै सरकारी, गैरसरकारी र निजी संस्थाहरूले अनौपचारिक शिक्षा केन्द्रसँग समन्वय र सहकार्य गरी साक्षरता तथा प्राथमिक तहको अनौपचारिक शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइसामग्री निर्माण, उत्पादन एवम् वितरण गर्नेछन् ।
♦ प्रौढ, महिला, बाल शिक्षा र वैकल्पिक विद्यालय कार्यक्रमका सामग्रीको गुणस्तर अनौपचारिक शिक्षा केन्द्रले निर्धारण गरेबमोजिम हुनेछ ।
♦ खुला विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइसामग्रीको स्तर निर्धारण तोकेबमोजिमको हुनेछ ।
♦ खुला विश्वविद्यालयले यसका क्याम्पसहरूका लागि गुणस्तर निर्धारण गर्नेछ ।
♦ अनौपचारिक शिक्षा कार्यक्रमका लागि बनेका सामग्रीहरू लैंगिक, जातविशेष, जातीय र भाषिक दष्टिले विश्लेषण गर्दा उपयुक्त ठहरिनु पर्नेछ । यसको उपयुक्तता अनौपचारिक शिक्षा केन्द्रद्वारा मूल्यांकन हुनेछ ।
♦ मूल पाठ्यक्रम तथा मूल सामग्रीको खाका बनाउने क्रममा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था एवम् गैरसरकारी संस्थाहरूलाई सहभागी गराइनेछ ।
♦ पाठ्यक्रम पाठ्यपुस्तक निर्माण, उत्पादन र वितरणमा सूचना प्रविधि चालन गरिनेछ ।
रणनीति
माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ अनौपचारिक शिक्षा केन्द्रले आधारभूत तथा साक्षरोत्तर कार्यक्रमका लागि अपेक्षित शैक्षिक उपलब्धिहरूको सूची तयार गरी अनौपचारिक शिक्षाको पाठ्यपुस्तक तथा अन्य सामग्रीबनाउने संस्थालाई सो सूची उपलब्ध गराउने ।
♦ शैक्षिक सामग्रीहरूमा जिवनोपयोगी सीपहरू समावेश गर्ने ।
♦ अनौपचारिक शिक्षा केन्द्रले कार्यक्रम सञ्चालक, निर्णयकर्ता, सामग्री उत्पादक र दाताहरूसँग बसेर यस्तो सूचीलाई अद्यावधिक गर्ने ।
♦ अद्यावधिक सूचीअनुसार व्यक्ति तथा संस्थाहरूले आवश्यक सामग्रीहरू बनाउने ।
♦ समकक्षताका लागि वैकल्पिक विद्यालय, खुला विद्यालय र खुला विश्वविद्यालयका पाठ्यक्रम, पाठ्यसामग्री र सहायक एवम् पूरक सामग्रीहरू अनौपचारिक शिक्षाका अपेक्षित उपलब्धिका आधारमा बनाउने ।
♦ अनौपचारिक शिक्षा केन्द्रले आफ्ना सबैखाले वैकल्पिक विद्यालय कार्यक्रमहरूको लागि संश्लेषित पाठ्यक्रम बनाउने, संशोधन गर्ने र अद्यावधिक गर्ने ।
♦ इच्छुक शैक्षिक संस्थाहरूलाई संश्लेषित पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण र प्रयोग गर्न प्रोत्साहित गर्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था एवम् व्यक्तिहरूले सम्बन्धित निकायसँग स्वीकृति तथा सहयोग लिई विभिन्न भाषामा स्थानीय पाठ्यक्रम, पाठ्यसामग्री र सहायक एवम् पूरक सामग्रीहरू तयार गर्ने, छाप्ने र वितरण गर्ने र एकअर्काका सामग्रीहरूको प्रयोग गर्ने कामहरू गर्ने ।
♦ ती सामग्रीहरूको सिकाइ उपलब्धि र उपयुक्तता स्तर निर्धारण सम्बन्धित संस्थाले गर्ने ।
♦ स्थानीय तथा राष्ट्रिय पाठ्यक्रम, पाठ्यवस्तु र पूरक सामग्रीहरूको स्थानीय बजारमा उपलब्धता, ती सामग्रीहरू शैक्षिक उपलब्धिको अद्यावधिक सूचीअनुसार भए नभएको र जात विशेष, जातीय, लैंगिक, धार्मिक, भाषिक र अपांगताका मुद्दाहरूलाई ध्यानमा राखिएको वा नराखिएको सम्बन्धित संस्थाले एकिन गर्ने ।
♦ विपन्न एवम् लक्षित समूहलाई अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालकले पाठ्यसामग्रीहरू निशुल्क उपलब्ध गराउने ।