नियम २५
प्रत्यायन
(१) ऐनको दफा १५ को उपदफा (१) बमोजिम प्रत्यायन सम्बन्धी कार्य गर्नका लागि छुट्टै निकाय गठन नभएसम्म प्रत्यायन: सम्बन्धी काम मापदण्ड तथा प्रत्यायन निर्देशनालयले गर्नेछ र सो निर्देशनालयलाई प्रत्यायन सम्बन्धी कार्यमा सहयोग पुरयाउन देहाय बमोजिमको चिकित्सा शिक्षा प्रत्यायन समितिको गठन हुनेछः-

क निर्देशक, मापदण्ड तथा प्रत्यायन निर्देशनालय - संयोजक ख रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल - सदस्य ग विश्वविधालयका डीनहरूमध्ये समितिबाट मनोनीत एक जना - सदस्य घ प्रतिष्ठानका डीनहरूमध्ये समितिबाट मनोनीत एक जना - सदस्य (ङ) नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्‌ 'लगायतका पेशागत व्यावसायिक परिषद्का अध्यक्षहरूमध्ये समितिबाट मनोनीत एक जना - सदस्य (च) महाशाखा प्रमुख (प्रत्यायन हेर्ने), विश्वविधालय अनुदान आयोग - सदस्य (छ) वरिष्ठ अधिकृत, मापदण्ड तथा प्रत्यायन निर्देशनालय - सदस्य- सचिव (२) शिक्षण संस्थाले आफूले सञ्चालन गर्ने शैक्षिक कार्यक्रमहरूको प्रत्यायन गराउन चाहेमा अनुसूची-७ बमोजिमको ढाँचामा मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा निवेदन दिनु पर्नेछ। (३) उपनियम (२) बमोजिम निवेदन दिने संस्थाले ऐन बमोजिमका मापदण्ड पूरा गरे वा नगरेको सम्बन्धमा उपनियम (१) बमोजिमको समिति आफैंले वा सम्बन्धित विषयका विज्ञहरूबाट अध्ययन गराउन तथा आवश्यकता अनुसार स्थलगत निरीक्षण गर्न वा गराउन सक्नेछ।

(४) उपनियम (३) बमोजिमको अध्ययनबाट निवेदन दिने शिक्षण संस्थाको कार्यक्रमलाई प्रत्यायन गर्न मनासिब देखिएमा चिकित्सा शिक्षा प्रत्यायन समितिले त्यस्तो शैक्षिक कार्यक्रम प्रत्यायन गर्न मापदण्ड तथा प्रत्यायन निर्देशनालयलाई सिफारिस गर्नेछ।

(५) उपनियम (४) बमोजिम प्राप्त सिफारिसका आधारमा मापदण्ड तथा प्रत्यायन निर्देशनालयले सम्बन्धित शिक्षण संस्थाको कुनै एक वा एक भन्दा बढी शैक्षिक कार्यक्रमलाई प्रत्यायन गर्न सक्नेछ।

(६) यस नियम बमोजिम प्रत्यायन गरिएको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाले त्यस्तो कार्यक्रम ऐन, यस नियम तथा प्रचलित कानून विपरीत सञ्चालन गरेको पाइएमा मापदण्ड तथा प्रत्यायन निर्देशनालयले त्यस्तो प्रत्यायन जुनसुकै बखत रद्द गर्न सक्नेछ।

तर त्यसरी प्रत्यायन रद्द गर्नु अघि सम्बन्धित शिक्षण संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।