नियम १८
प्रदूषण निष्काशन गर्न वा फोहोर मैला निष्काशन नगर्न सूचना गर्ने
(१) सम्बन्धित निकायले जाँचबुझको सिलसिलामा वा नियम १७ बमोजिम उजूरी परी जाँचबुझ गर्दा कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन र यस नियमावली बमोजिम तोकिएको शर्त वा मापदण्ड
अनुरुप प्रदूषण नियन्त्रण नगरेको वा फोहरमैला निष्काशन गरेको देखिएमा त्यस्तो व्यक्ति, संस्था वा उद्योगलाई सम्बन्धित निकायले त्यस्तो शर्त वा मापदण्ड अनुरुप प्र्रदूषण नियन्त्रण गर्न वा फोहरमैला निष्काशन नगर्नको लागि तुरुन्त सूचना गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित व्यक्ति, संस्था वा उद्योगलाई सूचना दिँदा देहायका कुनै वा सबै काम तुरुन्त गर्नु भनी समयावधि तोकी सम्बन्धित निकायले आदेश दिन सक्नेछ ः–
(क) प्रदूषण नियन्त्रण गर्ने वा फोहरमैला निष्काशन नगर्ने सम्बन्धमा तुरुन्त अवलम्बन गर्नु पर्ने कुराहरू,
(ख) कुनै उपकरण वा साधन प्रयोग गर्न, सञ्चालन गर्न वा त्यस्तो उपकरणमा सुधार गर्न,
(ग) प्रयोग वा सञ्चालन गरिएका कुनै वा सबै उपकरण प्रयोग वा सञ्चालन नगर्न,
(घ) निश्चित अनुगमन कार्यक्रम अवलम्बन गरी आफू समक्ष प्रतिवेदन पेश गर्न लगाउन,
(ङ) प्रदूषण नियन्त्रण गर्न तथा फोहरमैला निष्काशन नगर्न विभिन्न किसिमका वैकल्पिक उपायहरू अवलम्बन गर्न,
(च) वातावरण व्यवस्थापन प्रणाली विकसित गरी सो को जानकारी दिन लगाउन,
(छ) प्रदूषणको नियन्त्रण तथा फोहरमैला निष्काशन सम्बन्धी कार्यमा रोक लगाउने विषयमा उपयुक्त सम्झेको अन्य कार्य गर्न लगाउन ।