(१) दफा ५ बमोजिम कुनै प्रस्ताव प्राप्त भएमा सम्बन्धित निकायले सो प्रस्ताव साथ संलग्न प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने नदेखिएमा प्रारम्भिक वातावरणीय परीक्षण गरिएको प्रस्तावको हकमा आफैले स्वीकृति दिनेछ र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन सम्बन्धमा आफनो राय सहित सो प्रस्ताव मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रारम्भिक वातावरणीय परीक्षण गरिएको प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन पनि गर्नु पर्ने देखिएमा सम्बन्धित निकायले सो प्रस्तावको वातावरणीय प्रभाव मूल्यांकन गर्न आदेश दिन सक्नेछ । यसरी सम्बन्धित निकायले दिएको आदेश बमोजिम कुनै प्रस्तावकले वातावरणीय प्रभाव मूल्यांकन गरी प्रस्ताव स्वीकृतिको लागि पेश गरेमा सो प्रस्ताव उपर आवश्यक जाँचबुझ गरी आफनो राय सहित सो प्रस्ताव मन्त्रालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै प्रस्ताव साथ वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदन प्राप्त भएमा मन्त्रालयले सो प्रतिवेदनका सम्बन्धमा राय सुझाव दिनको लागि सर्वसाधारणले सो प्रतिवेदन आफैंले उतार गरी लैजान पाउने व्यवस्था गर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम प्रस्ताव साथ प्राप्त वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदनमा राय सुझाव दिनको लागि मन्त्रालयले सम्बन्धित निकायका विशेषज्ञहरु समेत रहेको एक समिति गठन गर्न सक्नेछ ।
(५) उपदफा (१) वा (२) बमोजिम प्राप्त वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदनमा सर्वसाधारणले कुनै राय सुझाव दिएको भए सो र उपदफा (४) बमोजिम कुनै समिति गठन गरिएकोमा सो समितिले दिएको राय सुझाव समेतको आधारमा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने नदेखिएमा मन्त्रालयले त्यस्तो प्रस्ताव कार्यान्वयन गर्न प्रस्तावकलाई स्वीकृति दिनेछ ।
(६) उपदफा (१) वा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदनबाट प्रस्तावको कार्यान्वयन गर्दा वातावरणमा पर्ने उल्लेखनीय प्रतिकूल प्रभावलाई कम वा नियन्त्रण गर्न सकिने देखिएमा सम्बन्धित निकाय वा मन्त्रालयले प्रस्तावकलाई आवश्यक शर्तहरु तोकी प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिन सक्नेछ ।
(७) प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्यांकन प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिनु पर्ने अवधि र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।