दफा
प्राइभेट फर्म रजिष्टर गर्नलाई दरखास्त दिने र रजिष्टेशन

(१) कुनै प्राइभेट फर्म रजिष्टर गराउन चाहने व्यक्तिले तोकिएको दस्तूर सहित तोकिएको ढाँचाको दरखास्त सम्बन्धित विभाग छेउ दिन सक्नेछ। त्यस्तो दरखास्तमा देहायका विवरण खोलिएको हुनुपर्छ :–
(क) प्राइभेट फर्मको नाम ।
(ख) प्राइभेट फर्मको ठेगाना ।
(ग) प्राइभेट फर्मको उद्देश्य तथा त्यसले कारोबार गर्ने चीज वस्तु तथा कामको विवरण ।

(घ) प्राइभेट फर्मको धनीको नाम, ठेगाना र बाबुआमा र बाजे, बज्यैको नाम र
(ङ) समय समयमा नेपाल सरकारले सूचित आदेशद्वारा तोकिदिएको अरु विवरणहरु ।
(२) उपदफा (१) अन्तर्गत कसैको दरखास्त दाखिल भएपछि सम्बन्धित विभागले तोकिएबमोजिम आवश्यक जाँचबुझ गरी हेर्दा दरखास्तमा खोलिएको विवरण साँचो हो भन्ने आफूलाई विश्वास हुने मनासिब कारण भएमा र दरखास्त गरे बमोजिमको प्राइभेट फर्म खोल्न मनासिब देखेमा तोकिएबमोजिमको रजिष्टर किताबमा प्राइभेट फर्म रजिष्टर गरी त्यसको तोकिएको ढाँचाको प्रमाणपत्र दरखास्तवालालाई दिइनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एउटै व्यक्तिको नाममा एकै उद्देश्य भएको एक भन्दा बढी वाणिज्यसम्बन्धी प्राइभेट फर्म रजिष्टर गरिने छैन ।