नियम
प्राधिकरणको काम, कर्तव्य र अधिकार
: (१) ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त प्राधिकरणको अन्य काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ :-

(क) सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानको प्रकृतिको आधारमा कर्मचारी तथा कामदारलाई _ दिनु पर्ने विपद्‌ व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा तालिमको विषय र मापदण्ड तोक्ने,

(ख) विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न क्षमता अभिवद्धि लगायतका कार्य गर्ने, गराउने,

(ग) विपद्को समयमा तत्काल परिचालनको लागि फ्लाइङ स्क्वाड गठन गर्न सुरक्षा निकायसँग समन्वय गर्ने र त्यस्तो फ्लाइङ स्क्वाडको लागि आवश्यक पर्ने तालीम तथा अभिमुखीकरणको व्यवस्था मिलाउने,

(घ) विपद्को समयमा प्राप्त हुने राहत सामग्री सुरक्षित रुपमा भण्डारण गर्ने तथा प्रभावितहरुलाई पारदर्शी रुपमा वितरणको व्यवस्था मिलाउने, (ङ) विकास निर्माण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्नु पर्ने विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी विषयको लागि सङ्घ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई लागि आवश्यक मार्गनिर्देश गर्ने,

(च) विपद्‌ व्यवस्थापन सम्बन्धी कार्य गर्ने सरकारी निकाय, गैर सरकारी संस्था, निजी क्षेत्रका कार्यक्रमलाई नेपाल सरकारको प्राथमिकता तथा आवश्यकताका आधारमा परिचालन गर्न मार्गदर्शन गर्ने तथा त्यस्ता कार्यक्रम कार्यान्वयनको अनुगमन गर्ने ।

(२) प्राधिकरणले सम्पादन गरेका कामको विवरण मन्त्रालयलाई नियमित रुपमा उपलब्ध गराउनु पर्नेछ ।

(३) प्राधिकरणको सङ्गठन संरचना तथा कार्यविवरण नेपाल सरकारले स्वीकृत गर्नेछ ।

(४) प्राधिकरणको गठन नभएसम्मको लागि प्राधिकरणले गर्ने कार्य मन्त्रालयको विपद्‌ व्यवस्थापन सम्बन्धी विषय हेर्ने महाशाखाले गर्नेछ ।