दफा ७
प्रारम्भिक सूचनाका विषयवस्तुहरु
(१) प्रारम्भिक सूचनामा कम्तीमा देहायका कुराहरु उल्लेख भएको हुनु पर्नेछः–
(क) धितो दिने व्यक्तिको नाम, ठेगाना र अन्य विवरण,
(ख) धितो लिने व्यक्ति वा निजको प्रतिनिधिको नाम, ठेगाना र अन्य विवरण,
(ग) धितोको सम्पत्तिसँग सम्बन्धित विवरण ।
तर त्यस्तो सूचना कटान गरिने रुख, उत्खनन गरिने खनिज पदार्थ वा धितोको सम्पत्तिमा जडित सामानसँग सम्बन्धित भएमा
सम्बन्धित अचलसम्पत्तिको विवरणसमेत उल्लेख गर्नु पर्नेछ ।
(२) धितो दिने व्यक्ति वा निजले अख्तियारी दिएको व्यक्तिले निजको तर्फबाट यस ऐनबमोजिम प्रारम्भिक सूचना दर्ता कार्यालय समक्ष दर्ता गर्न सक्नेछ । धितो दिने व्यक्तिले अख्तियारी दिएको लिखत त्यस्तो सूचनामा समावेश हुन आवश्यक छैन ।
(३) धितो दिने व्यक्तिले धितोसम्बन्धी सम्झौता सम्पन्न गरेको अवस्थामा त्यस्तो सम्झौतामा उल्लिखित धितोको सम्पत्ति र त्यस्तो धितोको सम्पत्तिबाट प्राप्त लाभका सम्बन्धमा सो सम्झौतामा स्पष्ट व्यवस्था भएको वा नभएको जेसुकै भए तापनि त्यस्तो धितोको सम्पत्ति वा सोबाट प्राप्त लाभसँग सम्बन्धित प्रारम्भिक सूचना वा संशोधन दर्तासमेतको काम गर्न पाउने गरी अख्तियारी प्रदान गरेको मानिनेछ ।
(४) यस दफाबमोजिम प्रारम्भिक सूचना धितोसम्बन्धी सम्झौता सम्पन्न हुनुअगावै वा धितोको हक आबद्ध हुनुअगावै दर्ता गर्न सकिनेछ ।
(५) कुनै प्रारम्भिक सूचनामा यस दफाबमोजिम उल्लेख गर्नु पर्ने कुनै कुरा उल्लेख हुन नसकेको भए तापनि सो सूचनाले यस परिच्छेदमा उल्लेख भएका अन्य शर्तहरु पूरा गरेको भएमा र त्यस्तो सूचनाको भ्रामक अर्थ नलाग्ने भएमा यस ऐनबमोजिम प्रभावकारी भएको मानिनेछ ।