नियम ९४
फैसलाको सामान्य त्रुटि सच्याउने
(१) सरोकारवाला पक्ष वा निजको वारिसले अदालतको फैसलाको नक्कल लिएपछि फैसलामा लेखाईको सामान्य त्रुटि देखेमा सो त्रुटि सच्याउन सम्बन्धित अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतको फैसलामा त्रुटि भएको कुरा अदालत स्वयम्‍को जानकारीमा आएमा अदालतको सम्बन्धित कर्मचारीले सोही बेहोराको प्रतिवेदन दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम निवेदन वा प्रतिवेदन प्राप्त हुन आएमो सो निवेदन वा प्रतिवेदन र सम्बन्धित मिसिल सो फैसला गर्ने न्यायाधीशको इजलास समक्ष पेस गर्नु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जुन फैसलाको त्रुटि सच्याउन माग गरिएको हो सो फैसला गर्ने न्यायाधीशमध्ये कुनै न्यायाधीश हाल बहालमा नरहेको वा मृत्यु भएको भए प्रधान न्यायाधीशले निजको सट्टा अन्य कुनै न्यायाधीशको इजलासमा सो निवेदन वा प्रतिवेदन र मिसिल पेस गर्न लगाउन सक्नेछ ।
(५) उपनियम (३) वा (४) बमोजिम पेस भएको निवेदन वा प्रतिवेदन र मिसिल अध्ययन गर्दा त्रुटि सच्याउनु पर्ने देखेमा इजलासले फैसलामा संशोधन गर्ने गरी छुट्टै आदेश दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम गरिएको आदेश मूल फैसलाको अभिन्न अङ्ग मानिनेछ ।
(७) उपनियम (५) बमोजिम गरिएको आदेशको बेहोरा मुद्दाका अन्य पक्षलाई पनि जानकारी गराउन अदालतले आवश्यक सूचना दिन सक्नेछ ।