नियम १९
बजेट तर्जुमा गर्ने
(१) प्रत्येक कार्यालयले तालुक कार्यालयको निर्देशन र अर्थ मन्त्रालयले निर्धारण गरेको बजेट सीमा तथा बजेट दिग्दर्शन र परिपत्रको अधीनमा रही आफ्नो उद्देश्य अनुरूपको कार्य सम्पादन गर्न लक्ष्य निर्धारण गरी सोको आधारमा आगामी
आर्थिक वर्षको लागि बजेट तर्जुमा गर्नु पर्नेछ ।
(२) नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सिफारिसमा बहुवर्षीय आयोजना तोकी वजेट विनियोजन गर्न सक्नेछ । बहुवर्षीय आयोजना बाहेक अन्य आयोजना तथा कार्यक्रमको लागि राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमको सम्बन्धमा प्राथमिकता तथा नीतिगत लक्ष्य निर्धारण गरी उपनियम (१) बमोजिमको परिपत्र हुनु अगावै सम्बन्धित मन्त्रालय र अर्थ मन्त्रालयलाई आवश्यक मार्गदर्शन उपलब्ध गराउनु पर्नेछ ।
(३) आवधिक योजनाको लक्ष्य, नीति र राष्ट्रिय योजना आयोगको मार्गदर्शनलाई समेत ध्यानमा राखी नेपाल सरकारले गर्नु पर्ने काम, हासिल गर्ने लक्ष्य, कार्यक्रम र आर्थिक स्रोत तथा देहायका कुृराहरूलाई समेत दृष्टिगत गरी राष्ट्रिय योजना आयोग, सम्बन्धित मन्त्रालय र निकाय समेतको सल्लाह लिई आगामी वर्षको लागि अर्थ मन्त्रालयले क्षेत्रगत र मन्त्रालयगत बजेट रकमको सीमा निर्धारण गर्नेछ । यसरी निर्धारण गरिएको बजेट रकमको सीमा र अर्थ मन्त्रालयले बनाएको बजेट दिग्दर्शन बमोजिम सम्बन्धित निकायहरूलाई बजेट पेश गर्ने समय तोकी अर्थ मन्त्रालयले परिपत्र गर्नेछः–
(क) साल बसाली गर्नु पर्ने कामहरू,
(ख) आवधिक योजनाले लक्ष्य गरेका कामहरू,
(ग) चालू भैरहेका काम वा आयोजनाहरू,
(घ) वैदेशिक सहायताका सम्झौतामा उल्लेख भए बमोजिमका अवधिमा गर्नु पर्ने कामहरू,
(ङ) नेपाल सरकारका नीति र कार्यक्रम अनुसारका कामहरू,
(च) त्रिवर्षीय बजेट सीमा तोकिएको भए सो बमोजिमका कार्यक्रमहरू,
(छ) अन्य आवश्यक कुराहरू ।