नियम २८
बढुवाको लागि पद निर्धारण र बढुवाको आधार
(१) प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीको रिक्त पदहरू मध्ये २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षा र ७५ प्रतिशत कार्य सम्पादन मूल्यांकन आधारमा बढुवाद्वारा पूर्ति गरिनेछ ।
(२) आयोगले शिक्षकलाई बढुवाको लागि सिफारिस गर्दा निजको कार्य क्षमताको आधारमा गर्नेछ र शिक्षकको कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा १०० अङ्क दिइनेछः–
(क) नोकरीको ज्येष्ठता वापात ३५
(ख) शैक्षिक योग्यता वापत २०
(ग) तालीम वापत १०
(घ) कार्य सम्पादनलाई देहाय बमोजिम विभाजन गरिनेछः–
(१) अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धि वापत १५
(२) शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान गरे वापत ५
(३) विशेष जिम्मेवारी वापत ५
(४) कार्य सम्पादनको आधारमा सुपरीवेक्षक र पुनरावलोकन समितिले गरेको मुल्याङ्कन वापत १०
(३) आयोगले उपनियम (२) बमोजिम मूल्यांकन गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई सबैभन्दा पहिले बढुवाको लागि सिफारिस गर्नु पर्नेछ । समान अङ्क प्राप्त गर्ने शिक्षकको हकमा नोकरीको जेष्ठताको आधारमा बढुवाको लागि सिफारिस गरिनेछ ।