दफा ८६
बाटो इजाजतपत्र स्थगित गर्न सकिने
(१) यस ऐन बमोजिम बाटो इजाजतपत्र लिएको कुनै सार्वजनिक सवारी दुर्घटनामा परी वा अन्य कुनै कारणबाट बिग्री चार महीना वा सो भन्दा बढी अवधिसम्म चलाउन नसकिने भएमा सवारी धनीले सो ब्यहोरा खुलाई बाटो इजाजतपत्र संलग्न राखी अधिकार प्राप्त अधिकारी समक्ष त्यस्तो बाटो इजाजतपत्र स्थगित गर्नका लागि दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा त्यस्तो सार्वजनिक सवारी चलाउन नसकिने अवधिसम्मका लागि त्यस्तो सवारीको बाटो इजाजतपत्र स्थगित गर्न सक्नेछ ।
(२क) बाटो इजाजतपत्रमा तोकेको बाटोमा सार्वजनिक सवारी साधन सञ्चालन नगरी जनजीवनमा प्रतिकूल असर पर्ने गरी यातायात सेवा अवरूद्ध गरेमा नेपाल सरकारले त्यस्ता सवारीहरूको बाटो इजाजतपत्र बढीमा एक महीना सम्मको लागि स्थगित गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम बाटो इजाजतपत्र स्थगित अवधिको नवीकरण दस्तुर मिनाहा हुनेछ ।