नियम
भाडा (लिज) मा वायुयान लिने वा दिने सम्बन्धी व्यवस्था

(१) नियम ४ बमोजिम अनुमति तथा प्रमाणपत्र प्राप्त वायुसेवा संचालन संस्थाले वायुयान भाडामा लिनु वा दिनु पर्ने भएमा सोको अनुमति पाऊँ भनी एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिमको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा वायुयान भाडामा लिने वा दिने सम्बन्धमा सम्झौताको प्रतिहरु समेत समावेश गर्नु पर्नेछ ।
(३) यस नियम बमोजिम वायुयान भाडामा लिएको वा दिएको वायुयानको संचालन परिवर्तन गर्नु परेमा अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिम दरखास्त पर्न आएमा महानिर्देशकले आवश्यक जाँचबुझ गरी विमान भाडामा लिने वा दिने तथा भाडामा लिएको वायुयानको स्वामित्व तथा संचालक परिवर्तन गर्ने अनुमति दिनु पर्नेछ । यसरी अनुमति दिंदा सम्झौताका शर्तहरुमा
परिवर्तनका साथै महानिर्देशकले अन्य आवश्यक शर्तहरु समेत तोक्न सक्नेछ । तर वायुयान भाडामा लिने वा दिने राष्ट्रको वायुयानको सञ्चालन तथा प्राविधिक जिम्मेवारी लिनु दिनु पर्ने भएमा सम्बन्धित राष्ट्रको नागरिक उड्डयन निकाय बीच आपसी
समझदारी लिएर मात्र त्यस्तो अनुमति दिईनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकार र प्राधिकरणलाई बुझाउन बाँकी रहेको रकम बुझाएको प्रमाणित नभएसम्म त्यस्तो अनुमति दिइने छैन ।
(६) यस नियम बमोजिम भाडामा लिने दिने सम्बन्धमा भए गरेका अन्य काम कारवाही र सम्झौतामा थपघट एवं संशोधन भएमा तत्सम्बन्धी कागजातहरु समेत पेश गर्नुपर्नेछ ।