(१) यस ऐन बमोजिम घर जग्गाको मूल्यांकन गर्दा कुनै विवरणको वा गणितको भूलले गर्दा करको अङ्क घटीबढी हुने गरी कर निर्धारण भएको कुरा करदाताको निवेदन परी वा अन्य कुनै स्रोतबाट जानकारी हुन आएमा कर निर्धारण भएको मितिले दुई वर्षभित्र कर अधिकृतले सो भूलसुधार गरी पुन कर निर्धारण गर्न सक्नेछ ।
(२) उपदफा (१) अनुसार कर निर्धारण आदेशमा भूलसुधार गर्दा हुन आउने कर रकम पहिले निर्धारण भएको कर रकम भन्दा कम हुने भएमा त्यस्तो कर निर्धारण आदेश दिनुअघि स्पष्ट कारण खोली पर्चा खडा गरी कर विभागको महानिर्देशकको स्वीकृति लिनु पर्नेछ ।
(३) उपदफा (१) अनुसार भूल सुधारबाट करको रकम पहिले निर्धारण भएको कर रकम भन्दा बढी हुने भएमा सो कर निर्धारण आदेशमा भूलसुधार गर्नु अघि स्पष्ट कारण खोली पर्चा खडा गरी करदातालाई सो सम्बन्धमा लिखित सूचना दिई आफूले तिर्नु पर्ने कर सम्बन्धमा सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।