नियम ३९
मतगणना
(१) नियम ३८ बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गरी सकेपछि मतपेटिकामा लगाएको सुरक्षण सिल तोडी मतपेटिकामा रहेका सबै मतपत्र गणना गर्ने स्थानमा खन्याउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खन्याइएका मतपत्र मध्ये सदर मतपत्र र बदर मतपत्र अलग–अलग छुट्याई खसेको मतपत्रको कुल सङ्ख्या उल्लेख गरी मुचुल्का बनाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम छुट्याइएका मतपत्रमध्ये सबैभन्दा पहिले बदर मतपत्र र त्यसपछि सदर मतपत्रको गणना गर्नु पर्नेछ ।
(४) निर्वाचन अधिकृत वा निजले खटाएको कर्मचारीले मतगणना गर्दा सदर वा बदर मतपत्र उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनु पर्नेछ ।
तर सो मतपत्र निजहरुलाई छुन वा समाउन दिनु हुँदैन ।
(५) मतगणनाको कार्य सम्पन्न भई सकेपछि निर्वाचन अधिकृतले सङ्घीय संसदका सदस्यले मतदान गरेको मतपत्र र प्रदेश सभाका सदस्यले मतदान गरेको मतपत्रको सङ्ख्या छुट्टिने गरी मतगणना तालिका तयार गर्नु पर्नेछ । यसरी तालिका तयार गरेपछि सङ्घीय संसदका सदस्यले दिएको मत र प्रदेश सभाका सदस्यले दिएको मतलाई ऐनको दफा ५४ बमोजिमको मतभारले गुणन गरी सम्बन्धित उम्मेदवारले पाएको कुल मत कायम गरी सोको मुचुल्का गराई राख्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कायम भएको कुल मतमध्ये कुनै उम्मेदवारले प्राप्त गरेको मत ऐनको दफा ५५ को उपदफा (२) बमोजिम निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(७) मतगणनाको कार्य सम्पन्न भए पछि निर्वाचन अधिकृतले गणना गरी सकेका मतपत्रमध्ये सदर र बदर मतपत्र छुट्टाछुट्टै खाममा बन्द गरी लाहाछाप लगाई सिलबन्दी गरी राख्नु पर्नेछ । यसरी सिलबन्दी गर्दा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप गर्न चाहेमा निजहरूलाई समेत सहीछाप गर्न दिनु पर्नेछ ।
(८) मतगणनाको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले सोको मुचुल्का तयार गराई सो मुचुल्कामा आफुले सहीछाप गरी मतगणना स्थलमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ ।
(९) यस नियम बमोजिम तयार गरिएको मुचुल्का वा मतगणना तालिकामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतगणना स्थलमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।