नियम ४०
मतगणना
(१) नियम ३९ बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गरी सकेपछि मतपेटिकामा लगाएको सुरक्षण सिल तोडी मतपेटिकामा रहेका सबै मतपत्रहरू गणना गर्ने स्थानमा खन्याउनु पर्नेछ ।
(२) मतगणना गर्दा बदर मतपत्र र सदर मतपत्रहरू छुट्याई अलग–अलग राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम छुट्याइएका मतपत्रमध्ये सबैभन्दा पहिले बदर मतपत्र र त्यसपछि सदर मतपत्र गणना गरी त्यस्ता मतपत्रको सङ्ख्या यकिन गरी सम्बन्धित मतदान केन्द्रमा खसेको मतपत्रको कुल सङ्ख्या उल्लेख गरी मुचुल्का बनाउनु पर्नेछ ।
(४) निर्वाचन अधिकृत वा निजले खटाएको कर्मचारीले मतगणना गर्दा सदर वा बदर मतपत्र उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनु पर्नेछ ।
तर सो मतपत्र निजलाई छुन वा समाउन दिनु हुँदैन ।
(५) सम्बन्धित प्रदेशको सबै मतदान केन्द्रको मतगणनाको कार्य सम्पन्न भईसकेपछि निर्वाचन अधिकृतले मतगणनाको तालिका तयार गर्नु पर्नेछ । यसरी तालिका तयार गरेपछि सोको मुचुल्का गराई राख्नु पर्नेछ ।
(६) निर्वाचन अधिकृतले गणना गरी सकेका मतपत्रमध्ये सदर र बदर मतपत्र छुट्टाछुट्टै खाम वा थैलोमा सिलबन्दी गरी राख्नु पर्नेछ । यसरी सिलबन्दी गर्दा आफुले सहीछाप गरी उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप गर्न चाहेमा निजहरूलाई समेत सहीछाप गर्न दिनु पर्नेछ ।
(७) मतगणनाको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले मतगणना कार्य सम्पन्न भएकोे मुचुल्का गर्नु पर्नेछ र सो मुचुल्कामा आफूले सहीछाप गरी मतगणना स्थलमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ ।
(८) यस नियम बमोजिम तयार गरिएको मुचुल्का वा मतगणना तालिकामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतगणना स्थलमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।