नियम
मतदाता नामावली तयार गरी प्रकाशन गर्ने
(१) आयोगले निर्वाचनको प्रयोजनको लागि सम्बन्धित प्रदेशको प्रदेश सभा सदस्यको पदमा बहाल रहेका व्यक्तिको विवरण सम्बन्धित प्रदेश सभा सचिवालयबाट र प्रदेश भित्रका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख पदमा बहाल रहेका व्यक्तिको विवरण सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट माग गरी मतदाता नामावली तयार गर्नु पर्नेछ । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ भएपछि पहिलो पटक हुने निर्वाचनको हकमा आयोगले तयार गरेको निर्वाचन परिणामको आधारमा प्रदेश सभा सदस्य र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख, उपप्रमुखको पदमा निर्वाचित भएका व्यक्तिको नाम समावेश गरी मतदाता नामावली तयार गर्न सकिनेछ । (३) आयोगले उपनियम (१) वा (२) बमोजिम तयार गरेको मतदाता नामावली सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनु पर्नेछ र निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रममा उल्लिखित मिति र समयमा सो मतदाता नामावली आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ । (४) उपनियम (३) बमोजिम मतदाता नामावली प्रकाशन गर्दा मतदाता नामावलीमा नाम समावेश हुन छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिने मिति, समय र स्थान समेत उल्लेख गरी सूचना प्रकाशन गर्नु पर्नेछ । (५) यस नियम बमोजिमको मतदाता नामावली सहितको सूचना आयोगको वेबसाइटमा समेत प्रकाशन गरिनेछ ।